एमाले अनेरास्ववियुका नेता, सचिव शाहीको आपराधिक पृष्ठभूमि, चोपिलाको अपराधले ग्याङसहित पक्राउ

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल), काठमाडौंका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिँदै गरेको अवस्थामा शाही पक्राउ परेका हुन् । शाही एमाले निकटको अनेरास्ववियुका नेता हुन् । शाही आफ्ना ग्याङका सदस्यहरूसहित पक्राउ परेपछि अनुसन्धानका क्रममा विभिन्न रहस्य प्रहरीले थाहा पाएको हो ।

शाहीसहित १४ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरले जिल्ला सरकारी वकिल कार्यालय, बबरमहल, काठमाडौंले शाहीसहित १४ जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

शाहीसहित १४ जनाले लोकसेवा ऐन र लिखतसम्बन्धी कसूर गरेको अभियोग छ ।

शाही विवादास्पद छविका अनेरास्ववियुका नेता हुन् । सचिव शाही यसअघि पनि पटक–पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्ति हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध उनी गत २४ माघमा ठमेलमा ड्युटीको प्रहरी कुटपिटपछि पक्राउ परेका थिए ।

शाहीसहितको समूहले ड्युटीमा खटिएको प्रहरीलाई मध्यराति कुटपिट गरेको थियो । यो प्रकरणमा उनी १० हजार धरौटीमा रिहा भएका थिए । त्यसपछि स्ववियु सचिवको उम्मेदवार बनेको उनी निर्वाचित भएका थिए ।

शाहीविरुद्ध यसअघि २०७९ मा ज्यान मार्ने उद्योग, २०८० मा पनि ज्यान मार्ने उद्योग र २०८१ मा अभद्र व्यवहारको मुद्दा चलेको थियो ।

मुद्दा दायर हुनेहरूमा लैनचौरमा रहेको अस्कल क्याम्पसका स्ववियु सचिव शाहीसहित सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका–१ का २० वर्षीय उमेश कुमार झा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २२ वर्षीय आकाश खड्का भनिने तिलक खड्का, जुम्लाको तिला गाउँपालिका–३ का २२ वर्षीय मुनबहादुर रावत रहेका छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–५ का २२ वर्षीय मनोज शर्मा भनिने मनोज बाबु शर्मा, दोलखाको जिरी नगरपालिका–९ का २३ वर्षीय मोहन सुनुवार छन् ।

उनीहरूलाई वैशाख ६ गते प्रहरीले मध्य बानेश्वरस्थित रत्न राज्य स्कुलबाट पक्राउ गरेको थियो । आठ जनालाई भने फरार प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।

फरार प्रतिवादीहरूमा सुर्खेतका २४ वर्षीय चित्रबहादुर बाठा, दैलेखको गुरास गाउँपालिका–८ का २० वर्षीय रविकिरण केसी, दैलेखका भगवतीमाई गाउँपालिका–६ का २२ वर्षीय रमेश खड्का, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–४ का २० वर्षीय नवीनकुमार मल्ल, दैलेखकै गुराँस गाउँपालिका–४ का १९ वर्षीय भुवन मल्ल, जुम्लाको तिला गाउँपालिका–३ का २३ वर्षीय वसन्त रावत, दैलेखकै २८ वर्षीय नारायण शाही भनिने नारायणकुमार तिरुवा र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का २८ वर्षीय सागर शर्मा छन् ।

नक्कली परीक्षार्थी बनेका अस्कलका स्ववियु सचिव शाहीले चित्रबहादुर बाठाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएको खुलेको छ । उनले के कति रकम लिएर परीक्षा दिए भन्ने विषय भने खुलेको छैन । चित्रबहादुर बाठा फरार छन् ।

नक्कली परीक्षार्थी बनेर परीक्षा दिने विषयबाट काठमाडौं महानरपालिका–१६ मा रहेको चोपिला रेस्टुरेन्टमा योजना बनाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । नक्कली परीक्षार्थी प्रकरणको मुख्य नाइके नारायण शाही भनिने नारायणकुमार तिरुवा र सागर शर्मा रहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2025 May 15, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया