पोखरा १५ अर्ब घोटालाका नाइके प्रदीपका गुरु काे ? भैरहवा २३ अर्ब घोटालामा योगेश मुछिए

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच ठूलो विवाद भएको छ ।
आलेले नै विवादित अधिकारीलाई महानिर्देशकमा नियुक्ति गरेका हुन् । आलेले सार्वजनिक लेखा समितिको बैठकमा अधिकारीलाई महानिर्देशक बनाउन आफ्नो पार्टीको सिफारिसमा नियुक्ति गरेको र नयाँ पार्टी चलाउनुपर्ने भएका कारण नियुक्त गरेको भन्दै घुमाउरो तरिकाले अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन् । अहिले आएर आले पानीमाथिको ओभानो बन्न खोजेका छन् । आले दुधले नुहाएका व्यक्ति होइनन् । महानिर्देशक अधिकारी पनि विवादरहित व्यक्ति होइनन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आयोजना प्रमुख अधिकारी थिए । अधिकारीले पोखरा र भैरहवा विमानस्थलमा अरबौं रुपियाँ घोटाला गरेको, विवादमा रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा र भैरहवा विमानस्थलको घोटालामा अधिकारीलाई अनुसन्धानमा तानेको जान्दाजान्दै तत्कालीन मन्त्री आलेले प्रलोभनमा परेर नियुक्ति गर्नु नै सबैभन्दा ठूलो भ्रष्टाचार त्यहिँ भएको छ । महानिर्देशक हुने उद्देश्य पूरा गर्न अधिकारीले आलेलाई प्रलोभनमा पारेर प्रयोग गरेका हुन् । आलेको भूमिका समाप्त भएपछि अधिकारीले आलेलाई लात हानेर अन्य मन्त्री, नेता, दलाल र बिचौलियाहरूको फेरो समातेका हुन् ।
तत्कालीन मन्त्री आलेले १२ तहका ६ जना कर्मचारीहरू हुँदाहुँदै ११ तहका विवादित अधिकारीलाई महानिर्देशक पदमा नियुक्त किन गरे ? गम्भीर प्रश्न यहिँ छ । तत्कालीन मन्त्री आलेले अहिले आएर बल्ल थाहा पाए भ्रष्टाचार भएको ? अधिकारीले पार्टीलाई गरेको सहयोग भ्रष्टाचार होइन ? सबैभन्दा पहिला आलेलाई पाताकसेर भ्रष्टाचारमा कारबाही गर्नुपर्छ । आलेले अधिकारीसँग त्यो बेला करीव ७ करोड लिएको भनेर चर्चा समेत चलेको थियो ।
तत्कालीन मन्त्री आले र महानिर्देशक अधिकारीबीच अहिले आएर नराम्रोसँग सम्बन्ध बिग्रिएको छ । आलेले तत्कालीन समयमा मन्त्री रहेका बेला धनगढी विमानस्थलको १ अर्ब भन्दा धेरै रकमको जग्गा खरिद प्रकरणमा मुछिएका छन् । तत्कालीन समयको मेगा बैंकमा कार्यरत एक महिला कर्मचारीलाई प्रयोग गरेर महानिर्देशक अधिरकारीले आलेलाई धनगढीमा जग्गा खरिद गराएका थिए । त्यहीँबाट आले र अधिकारीबीच सम्बन्धमा दरार आउन शुरु भएको थियो । आलेलाई फसाउन महानिर्देशक अधिकारीको डिजाइनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आले रन्किएका छन् । त्यसपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको जग्गा खरिद प्रकरणमा आलेले भ्रष्टाचार भएको भनेर बोल्दै आएका छन् ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २३ अर्ब घोटाला भएको आशंका छ । यो घोटालामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको हात रहेको आरोप छ । एमालेका सांसद समेत रहेका तत्कालीन मन्त्री भट्टराई र महानिर्देशक अधिकारी भैरहवाको २३ अर्ब घोटालामा फस्ने पक्का जस्तै छ । संयोग मान्नुपर्छ सार्वजनिक लेखा समितिले बनाएको भैरहवा विमास्थल छानविन उपसमितिको संयोजक तत्कालीन मन्त्री भट्टराई छन् । भट्टराई संयोजक रहेको उपसमितिले भैरहवा विमानस्थलको घोटालाबारे कसरी निष्पक्ष र सत्यतथ्य प्रतिवेदन बनाउँछ ? प्रश्न उठेको छ । कुनै बेला एमालेका अध्यक्ष केपी ओलीले भट्टराईलाई ‘बैगुनी केटो’ भनेका थिए । पूर्वमन्त्री भट्टराईले महानिर्देशक अधिकारीलाई भैरहवा, पोखरा विमानस्थलको घोटालाबाट बचाउन हरसम्भव प्रयास गरिरहेका छन् । प्रधानमन्त्री ओलीसँग नजिक बनाइदिएर अधिकारीलाई बचाउन सकिन्छ कि भनेर दैनिक सरह अधिकारी र भट्टराईबीच भेटघाट हुने गरेको स्रोतले जनाएको छ । आले र भट्टराई तत्कालीन मन्त्री हुन् । उनीहरू दुबै जनाले अधिकारीलाई संरक्षण गर्दै आएका छन् । अधिकारीसँग आले र भट्टराईविरुद्ध अनुसन्धान भई भ्रष्टाचार काण्डमा हदैसम्मको कारबाही गर्नुपर्छ भनेर प्राधिकरणमा माग उठेको छ ।
तत्कालीन मन्त्री आलेले अधिकारीलाई महानिर्देशकमा नियुक्त नगरेको भए थप भ्रष्टाचार थप नहुन पनि सक्ने थियो । भ्रष्टाचारका प्रमाणहरू नष्ट नहुन सक्ने थिए । अधिकारीलाई कारबाही गर्नुभन्दा अगाडि पूर्वमन्त्री आलेलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्छ । अधिकारीका गुरु भनेका आले हुन् । त्यो बेला महानिर्देशक अधिकारी तत्कालीन मन्त्री आलेलाई दाइ भनेर सम्बोधन गर्दथे । उनीहरूका बीच निकै हिमचिम थियो । चर्चा गर्नेहरूले रुपन्देहीको एउटा होटलमा तत्कालीन मन्त्री आले विवादमा परेका थिए । त्यो विवादलाई महानिर्देशक अधिकारीले कुरा मिलाइदिएको भनेर चर्चा समेत चलेको थियो । अधिकारी र आलेबीचको त्यो सम्बन्ध अहिले दुश्मनीमा पुगेको छ । यो सबै आले र अधिकारीबीच लेनदनमा कुरा नमिलेपछि दुश्मनी भएको चर्चा छ । आलेभन्दा पावरफुल अधिकारी छन् । अधिकारीले पहुँच र पैसाको भरमा आफूलाई सुरक्षित राख्दै आएका छन् । अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको मन्त्री पद समेत खाइदिएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले किराँतीलाई मन्त्रीबाट हटाइदिएका थिए ।
आले र अधिकारीबीच एकले अर्कालाई सध्याउने अघोषित कुस्ती चलेको छ । पैसा र स्वार्थमा डुबेपछि कोही पनि कसैको हुँदैन । भैरहवाको एयरपोर्टको जग्गा खरिद प्रकरणमा भएको भनिएको २३ अर्ब घोटालाको अनुसन्धान र छानविन हुने हो भने पूर्वमन्त्री एवम् एमालेका सांसद भट्टराई फस्ने सम्भावना छ । भट्टराई जग्गा खरिदका बेला मन्त्री थिए । भैरहवाको झण्ड २३ अर्ब घोटाला लुकाउन एमालेका नेता भट्टराईसहितका नेताहरू लागेका छन् । भैरहवाको प्रतिवेदन पनि मुख्य विषयमा केन्द्रित नरहेर तयार पारिएको एक सांसदले बताए ।
उपसमितिले प्रारम्भिक प्रतिवेदनको समस्या समाधानका लागि दिएका सुझाव र निष्कर्ष खण्डमा जग्गा मुआब्जा, निर्माणका क्रममा भएका भनिएका त्रुटि, अनियमितता र भ्रष्टाचारका विषय उल्लेख नै गरेको छैन । संयोजक भट्टराई विमानस्थल निर्माणको जिम्मेवारी प्राप्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा २०७६ साउन १५ देखि २०७७ पुस ५ सम्म थिए । उनी जिम्मेवारीमा रहेका बेला विमानस्थल निर्माण भइरहेको थियो । तत्कालीन मन्त्री आलेले भैरहवा विमानस्थलमा झण्डै २३ अर्ब घोटाला भएको दाबी गरेका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया