प्रदीप-जगन्नाथले ध्वस्त बनाएकाे विमानस्थलमा नागरिक बनेर यात्रा गर्न प्रधानमन्त्री र मन्त्रीलाई आग्रह

काठमाडौं । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै बेथिति रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री केपी ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई सर्वसाधारण नगारिक बनेर विमानस्थलबाट यात्रा गर्न आग्रह गरेका छन् । यात्रुले एयरपोर्ट प्रयोग गरेवापत कर तिर्ने गरेको बताउँदै कर तिरेअनुसारको कुनै पनि सुविधा नरहेको बताए ।

सांसद सिंहले नागरिकहरूबाट धेरै गुनासाहरू आएपछि आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत अध्ययन गरेर भिडियो र तस्बिरहरू खिचेर ल्याएको बताए ।

उनले भने, ‘हाम्रो देशको चलिरहेको एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुई वटा अन्तर्राष्ट्रिय बन्यो तर, चलेको छैन । पोखरा र भैरहवा । म हिजो त्यहाँ गएको थिए, अन्तर्राष्ट्रिय विमानस्थलमा एकदम बेथिति छ ।’

‘धेरै नागरिकहरूको कम्प्लेन आएपछि म आफै गएको थिएँ त्यहाँको भित्रको सबै फोटो र भिडियो खिचेर ल्याएको छु’, सिंहले भने, ‘त्यो अस्तव्यस्तताको एकदम पराकाष्टा छ । म सरकारलाई आग्रह गर्न चाहन्छु मन्त्री र प्रधानमन्त्रीजी तपाई एक पटक आम नागरिक भएर एयरपोर्टमा गएर हेर्नुस् कस्तो बेथिति छ ।’

सांसद सिंहले भने, ‘त्यहाँ ठाउँ साँघुरो छ । एकचोटीमा ८ वटा, १० वटा फ्लाइटको चेकिङ हुन्छ । त्यहाँ हजारौँ हजार मान्छे अन्यौलमा पर्छ कि कता जाने, कता जाने ? ठाउँको अभावमा ।’

‘लगेज आउँदा पनि घण्टौँ घण्टौँ लाग्छ । लगेज कहिले काहीँ ताल्चा फुटाइन्छ । यो अस्तव्यस्तता बाहिर पनि छदैछ,’ उनले भने, ‘सरकारसँग अनुरोध गर्न चाहन्छु कि कम्तिमा त्यो एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट चलिरहेको छ काठमाडौंमा, देशको राजधानी पनि छ । त्यसले अन्तर्राष्ट्रिय बेइज्जत नगराओस् ।’

उनले भने, ‘किन कि हाम्रोे नेपाली नागरिक मात्रै त्यहाँ जाँदैनन् । विदेशी नागरिक पनि आउँछन् । हामी पनि विदेश जाँदा हेर्छौं उनीहरूको एयरपोर्ट कति व्यवस्थित छ । हाम्रो देशको एयरपोर्ट किन व्यवस्थित हुन सकेन ? म पर्यटनमन्त्रीलाई एकचोटी भन्छु कि आजभोलिमा तपाईले बेलुका आठ, साढे आठ बजे जुन बेला फ्लाइटको धेरै हुन्छ त्यो बेला त्यहाँ अस्तव्यस्तता हेर्नुस्, कस्तो खराब स्थिति छ ।’

‘नागरिकले दुःख पाइरहेको छ । आखिर नागरिकले एयरपोर्टमा ट्याक्स बुझाउँछ नि ? एयरपोर्ट प्रयोग गरेवापत हरेक टिकटमा ट्याक्स हुन्छ,’ उनले भने, ‘बोर्डिङ पासमा ट्याक्स हुन्छ । ट्याक्स बुझाए पनि राम्रो सेवा नपाउने र दुःख पाउने यसलाई व्यवस्थित बनाउनको लागि सरकारले पहल गरिदिन आग्रह गर्दछु । देशलाई बेइज्जत नगराउँ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारी छन् । महानिर्देशक अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा झण्डै १५ अर्ब घोटाला, अनियमितता र भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएर अनुसन्धान अगाडि बढाएको छ ।

सार्वजनिक लेखा समितिको उपसमितिले पनि माहनिर्देशक अधिकारीलाई प्रमुख दोषी रहेको ठहर गर्दै कारबाहीका लागि सिफारिससहितको प्रतिवेदन बुझाएको छ ।

काण्डै काण्डमा परेका प्राधिकरणका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी जगन्नाथ निरौलालाई दिएका छन् । निरौला महानिर्देशक अधिकारीका सबैभन्दा विश्वासपात्र मानिन्छन् । निरौलाले विमास्थललाई सम्हाल्न सकेका छैनन् । निरौला पनि निकै विवादित मानिन्छन् ।

Published : Tuesday, 2025 May 13, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया