रविलाई पूर्वाग्रह भयो भनिएकै बेला कांग्रेस सांसद राईविरुद्ध उस्तै अभियोगमा मुद्दा दायर

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

मंगलबार सांसद राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७९० रुपियाँ विगो तिर्नुपर्ने मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ ।

स्वर्णलक्ष्मीसहित विभिन्न पाँच सहकारीमा ओखलढुङ्गाका गितेन्द्र राई, पूर्वगृहमन्त्री रवि लामेछानेसहितका आरोपी छन् । सांसद राईलाई वैशाख १३ गते प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको थियो ।

स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपियाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको आरोप छ ।

राई सञ्चालक समितिमा रहेको अवधिमा सहकारीको २ करोड ४० लाख ४४ हजार ७९० रुपियाँ अपचलन भएको पाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताएका छन् ।

सहकारीको करोडौं रकम अपचलन, ठगी र हिनामिना तथा संगठित अपराधको कसूरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा थुनामा छन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेलाई राजनीतिक पूर्वाग्रह भएकोर टिकाटिप्पणी भएकै बेला सत्तारुढ कांग्रेसकी सांसद राई पनि सोही अभियोगमा हिरासतमा छिन् । सांसद राईविरुद्ध पनि मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएपछि राईको सांसद पद अब निलम्बनमा पर्नेछ ।

Published : Tuesday, 2025 May 13, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया