सरकारी हाकिमद्वारा ५ करोड ३५ लाख हिनामित, अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मंगलबार जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख बलीरामप्रसाद कुर्मीसहित ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका नायब सुब्बा हाल कार्यालय प्रमुख समेत रहेका कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्म लिँदै आएको र बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको उजुरी अख्तियारमा परेको थियो ।

अनुसन्धान हुँदा कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रवक्ता पौडेलले कुर्मीलगायत जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।

बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपियाँ बढी रकम हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ ।

उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपियाँ बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ ।

Published : Tuesday, 2025 May 13, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया