कांग्रेस नेता बस्नेतले मन्त्री खड्कालाई सिन्धुपाल्चाेक २ को क्षतिको स्थलगत अवलोकन गराए

मेलम्ची । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई आफ्नो निर्वाचन क्षेत्रमा लगेर प्राकृतिक विपत्तीबाट भएको क्षतिको स्थलगत अवलोकन भ्रमण गराएका छन् ।

सोमबार सिन्धुपाल्चोकको क्षेत्र नं. २ का विभिन्न स्थानमा मन्त्री खड्का, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, मन्त्रालयका सचिव, सिंचाइ विभागका महानिर्देशक लगायतलाई ल्याएर भौतिक क्षतिको जानकारी गराएका हुन् ।

कांग्रेस नेता बस्नेतले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा सिन्धुपाल्चोकको क्षेत्र नं. २ का विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षतिलाई ध्यानमा राखेर बजेट विनियोजनका लागि आग्रह गरेका छन् । नेता बस्नेतल सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट एमालेका उम्मेदवारसँग फराकिलो मत अन्तरबाट विजयी भएका हुन् । मतदाताहरूको भरोसालाई पूरा गर्न बस्नेतले सिंचाइमन्त्री खड्कालाई लिएर आएका हुन् ।

मन्त्री खड्का, राज्यमन्त्री गर्बुजा, सचिव, महानिर्देशकलाई मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रको अवलोकन गराइएको नेता बस्नेतले बताएका छन् ।

२०७८ असार र त्यसपछि आएको लगातारको बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रको संरक्षण र पुनर्निर्माणका लागि स्थलगत निरीक्षण गरिएको कांग्रेस नेता बस्नेतले बताए ।

मन्त्री खड्कासँग स्थानीय जनप्रतिनिधिहरू, नेपाली कांग्रेस पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरू, उक्त क्षतिग्रस्त भेगका स्थानीय लगायतको उपस्थितिमा भीमटार, मेलम्ची बजार, ग्याल्थुम बजार, किउल बजारस्थित क्षतिग्रस्त स्थानहरूको स्थलगत निरीक्षण सम्पन्न गरिएको पूर्वमन्त्री बस्नेतले बताए ।

मन्त्री खड्का, राज्यमन्त्री गर्बुजा लगायत विभागीय कर्मचारीहरूबाट क्षतिग्रस्तस्थनको संरक्षण र पुनर्निर्माणको निमित्त आवश्यक बजेट विनियोजन गर्ने प्रतवद्धता व्यक्त भएको नेता बस्नेतले बताएका छन् ।

साथै, इन्द्रावती नदी किनारमा रहेको खेतीयोग्य जमीनहरूमा सिंचाइ सुविधालाई मध्यनजर गरी विस्तृत सिंचाइ परियोजना संचालन गर्ने योजना बमोजिम बजेट विनियोजन गर्ने नेता बस्नेतले बताए ।

Published : Monday, 2025 May 12, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया