मोस्टवान्टेड एमालेका सांसद पन्थी प्रधानमन्त्रीसँगै टाँसिएर देखिए, जिल खायो प्रहरी

काठमाडौं । जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछि फरार सूचीमा रहेका एमालेका लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित भएका छन् ।

सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सांसद पन्थी सांसद र उच्च तहका व्यक्तिहरूसँग बसेको तस्बिर सार्वजनिक भएको छ ।

पन्थीविरुद्ध एक वर्षअघि पक्राउ पुर्जी जारी भएको थियो । राजनीतिक शक्ति र पहुँचको भरमा पन्थीले पक्राउ पुर्जीलाई गुपचुप बनाएका थिए ।

पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका पन्थी बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको सार्वजनिक कार्यक्रममा सहभागी एमालेका सांसद पन्थीलाई त्यति ठूलो संख्यामा उपस्थित रहेको प्रहरीले देखेको छैन ।

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ ।

पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको थियो । रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

Published : Monday, 2025 May 12, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया