यौन क्रियाकलाप गराउने आलियालाई वीरगञ्जबाट पक्राउ

वीरगञ्ज । नाबालिकालाई भारतको रक्सौलमा लगेर यौनधन्दामा लगाउने २४ वर्षीया आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाकी खातुनले नगवाकै विपन्न परिवारकी १४ वर्षीया नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसा पनि दिने प्रलोभन दिएर वैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् ।

खातुनले ती बालिकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौनधन्दामा लगाएको आरोप लागेको छ । नाबालिग किशोरी सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

खोजतलासमा खटिएको प्रहरीले खातुन र ती बालिका दुवै जना खातुनको घरमा रहेको सूचना शुक्रबार मध्यरातमा पाएको थियो ।

शनिबार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलिया खातुनको घरमा पुगेर छापा मारेर ती बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

Published : Sunday, 2025 May 11, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया