सभापति खतिवडाद्वारा राष्ट्रपति र उप-राष्ट्रपतिको खर्च कटौतीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रपति र उप–राष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै खतिवडाले खर्च कटौतीका लागि राष्ट्रपति र उप–राष्ट्रपति कार्यालयका कर्मचारी एउटै हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले भने, ‘सार्वजनिक ऋण अहिले २६ अर्बभन्दा बढी पुगेको छ । राजस्वले साधारण खर्च धान्ने अवस्था छैन । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ ।’

खतिवडाले भने, ‘राष्ट्रपति र उप–राष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने निवास फरक रहने अवस्था भयो भने यसले खर्च कटौतीमा सहयोग पुग्छ ।’

खतिवडाले सरकारसँग संसदलाई बिजनेस दिन माग गरेका छन् । उनले संविधान संशोधनका लागि संसदीय समितिमा उठिरहेको विषयतर्फसमेत ध्यानाकर्षण गराएका छन् ।

Published : Sunday, 2025 May 11, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया