सगरमाथा संवादका लागि भारतद्वारा सवारीसाधन हस्तान्तरण

काठमाडौं । नेपाल सरकारद्वारा यसै हप्ता आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको छ ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन परराष्ट्रमन्त्री डा.आरजु राणालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् ।

डा.राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएकी छिन् । उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन् ।

नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तन सम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपायहरूको खोजीका लागि समेत सामूहिक प्रयत्नको मोडल तय गर्ने डा.राणाले बताएकी छिन् । भारत सरकारको सहयोग उल्लेखनीय रहेको डा.राणाले बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले यही मे १६‐१८ मा आयोजित सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरू तथा पाहुनाहरूको स्वागतको प्रतिक्षामा रहेको बताइन् ।

राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरूमा भारत सरकार नेपालको साथ रहेको पनि बताए ।

Published : Sunday, 2025 May 11, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया