सञ्चारकर्मीहरूले गलत सूचनाको बाढी रोकेर असल समाज निर्माणको अगुवाई गर्नुपर्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले मिसइन्फरमेसन र डिसइन्फरमेसनले अहिले नेपाल तथा अन्यत्र पनि नकारात्मकता फैलाइरहेकाले यस्ता गलत सूचनाको बाढीलाई रोकेर सत्यतथ्य र मर्यादित सूचना सम्प्रेषण गरी असल समाज निर्माणको अगुवाई गर्न समग्र सञ्चारकर्मीहरूलाई आग्रह गरेकी छिन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा डा.राणाले गलत सूचना सम्प्रेषणले प्रजातान्त्रिक प्रणालीमै आघात पु¥याउने भएकाले यस्ता गलत अभ्यासलाई रोक्नका लागि मिडियाकर्मीहरू आफै लाग्नुपर्ने बताएकी हुन् ।
उनले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार भएको बताएकी छिन् । डा.राणाले भनिन्, ‘स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता विनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।’
नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै डा.राणाले यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएकी छिन् । ‘नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ’, उनले भनिन्, ‘यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ ।’
डा.राणाले लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहने बताएकी छिन् ।
विषयमा केन्द्रित रहेर नेपाल सरकारले यसै हप्ता सगरमाथा संवादको आयोजना गरेको बताउँदै डा.राणाले नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थिति दर्शाउन यो सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको बताए ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालले अन्तर्राष्ट्रिय अदालत एवं विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्यायको माग गरिरहेको बताएकी छिन् । उनले भनिन्, ‘नेपालको न्याय मागको यो अभियानलाई विश्वव्यापी बनाइदिन म यस मिडिया समिटमा उपस्थित विभिन्न देशका पत्रकार मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया