फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्व हुने बताए । उनले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताएका छन् ।

‘हरियो वन नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर, अहिले हामीले एउटा संकल्प लिएका छौँ किन वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तार गर्नमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरू प्राकृतिक र जीवनमय देशमा हुर्केको उल्लेख गर्दै विश्व वातावरणका लागि पनि योगदानको विषय भएकाले अब वन सबलीकरण गर्ने र बुट्यानहरूलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्ने बताए ।

कृषि र वनको अधिकृत मिलेर फलफूल खेतीमा जोड दिन सकिने भन्दै ओलीले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले क्षेत्रवादी नभई एकार्का क्षेत्रलाई सहयोगी हुन आग्रह गरेका छन् । उनले किसानहरुलाई पशुपालनजस्ता कुराहरूमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरणको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले बाघको संख्या बढाउन नहुने भन्ने विषयमा विगतमा आफूले दिएको अभिव्यक्तिका विषयमा भएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘मैले बाघको संख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो । बाघले कानुनको किताब पढेको हँुँदैन । उसले भोक लागेर खाना नपाएपछि मान्छेलाई आक्रमण गर्छ ।’

‘फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ बढाएका छौँ ।’

‘वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ । वातावरणको संरक्षण मानव जातिका लागि गर्ने हो’, ओलीले भने, ‘मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन ।’

Published : Saturday, 2025 May 10, 2:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया