२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ को भव्य तयारी, प्रधानमन्त्री आफै आउने

भैरहवा । लुम्बिनी विकास कोषले २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाउने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गरेर लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर लुम्बिनी दिवस मनाउन लागेको बताए । बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म गरिने डा.लामाले बताए ।

तीन दिने कार्यक्रममा एक करोड रुपियाँ खर्च हुनेछ । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको डा.लामाले बताए ।

२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एवं संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष दुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम देवदह समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यावस्था तथा स्वयम् सेवक व्यावस्था उपसमिति बनेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन् राईले बताए ।

कार्यकारी सदस्य श्याम मिझारको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यावस्था उपसमिति, परिषद् सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, कार्यकारी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभायात्रा, प्रसाद वितरण तथा भोजन व्यावस्थापन उपसमिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मधु साजसज्जा तथा सरसफाई व्यावस्था उपसमिति बरिष्ठ निर्देशक ज्ञानिन राईको संयोजकत्वमा प्रकाशन वितरण तथा कार्यक्रम व्यावस्था उपसमिति गठन गरी कामहरू भैरहेको राईले बताए । वैशाख २९ गते प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुनेछ ।

तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ । वैशाष २९ गते विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरूको सहभागितामा प्रार्थना सभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुनेछ ।

वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरूसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइनेछ ।

बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिनेछ ।

बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपील गरेको छ ।

बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।

लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिनेछ ।

गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

Published : Saturday, 2025 May 10, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया