पशुपति क्षेत्र विकास कोषको ३६ लाख हिनामिना गर्ने लेखापाल बर्खास्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न रहेको भन्दै लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त गरेको छ ।

कोषका सदस्यसचिव डा.मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपियाँ हिनामिना गर्ने लेखापाल दवाडीलाई बर्खास्त गरिएको हो ।

लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो ।

२०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो ।

कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेस गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल दवाडीबाट असुल गर्न बाँकी रहेको र उक्त रकम पनि असुल गरिनेछ ।

कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हिनामिना गरेको रकम असुलउपर गर्ने गरी कोषको सेवाबाट बर्खास्त गरिएको पत्र लेखापाल दवाडीलाई दिएका छन् ।

यसअघि डा. थापाकै नेतृत्वमा २०८१ जेठ ७ गते सोमबार पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो ।

पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे र बाजा बजाउने कर्मचारीहरू ३४ वर्षका अनिल परियार, ३५ वर्षका कुमार दमाईं परियार र २९ वर्षीय सञ्जय कपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

अभियुक्तविरुद्ध अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

Published : Friday, 2025 May 9, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया