सम्मेलन अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण प्लेटफर्म : डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा रहेको बताएकी छिन् ।

शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री डा.राणाको अध्यक्षतामा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको बताइन् । उनले एक स्थायी कूटनीतिक फोरमका रुपमा बर्षेनि आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रुपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताएकी छिन् ।

डा.राणाले जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गरिएको कार्यक्रम अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म भएको बताइन् ।

‘जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रुपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्वपूर्ण हुनेछ’, डा.राणाले भनेकी छिन् ।

उनले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रुपमा सगरमाथा संवादको सुरुआत गरेको र यसबर्षको यो पहिलो संस्करण रहेको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय संघ, संगठनहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको बताएकी छिन् ।

डा.राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रुपमा सहभागिताको सुनिश्चित गरिएको बताएकी छिन् ।

अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय संघ, संगठनहरुले सहभागिताको सुनिश्चितता गरेका छन् ।

Published : Friday, 2025 May 9, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया