नेपालको राजनीति प्रतिशोध र पाकिस्तानी मोडलमा गयो, एकले अर्कालाई सिध्याउने : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपालको राजनीति प्रतिशोध र पाकिस्तानी मोडलमा गएको भन्दै चिन्ता जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, ‘राजनीतिक प्रतिशोधको कुरा यहाँ उठिरहेको छ । म प्रष्ट कुरा गर्ने भएकै मान्छे हुँ । सत्तारुढ दलको सांसद हुँ ।’

‘यति हुँदा हुँदै पनि हामीले त बोल्नै नहुने जस्तो, तथ्य कुरालाई बोल्नै नहुने जस्तो, सत्य कुरालाई बोल्नै नहुने जस्तो भएको छ’, उनले भने, ‘जहाँसम्म हाम्रा नेता रेशम चौधरीजीको गिरफ्तारी कुरा छ । यो विषयमा म एउटा सानो कुरा सुनाउन चाहन्छु ।’

बस्नेतले भने, ‘यो गिरफ्तारी गर्न जसले आदेश दियो त्यो मान्छे सिन्धुपाल्चोकमा पहिला गाविस सचिव रहेछन् । उहाँ नै यहि मान्छे हो भन्ने पछि सुनेको हो मैले । उहाँ गाविस सचिव हुँदा गाविस अध्यक्षलाई तपाई मैले भनेको मान्ने भए मान्नुस्, होइन भने सरुवा गरिदिन्छु भन्ने मान्छे हो । कस्तो मान्छे हो ? गाविस अध्यक्षलाई नै सरुवा गरिदिन्छु भन्ने मान्छे । यस कारण यो एउटा व्यक्ति कुनै पार्टीको नेताको कुरा होइन, प्रवृत्तिको कुरा हो ।’

‘यसमा कडाभन्दा कडा कारबाही हुनुपर्छ । यो प्रवृत्ति हो । आज यता पर्ला, भोलि उता पर्ला । पर्सी बीचमा पर्ला । त्यसै पनि नेपालको राजनीति हामीले सांसदहरूले सबैभन्दा कमजोर यो सदनलाई बनाउन खोजी रहेका छौँ । हाम्रा क्रियाकलापले’, उनले भने ।

सांसद बस्नेतले भने, ‘हामीले हामीलाई नै गाली गर्ने, अब पार्टीको राजनीतिक गतिविधि कस्तो छ ? नेपाली कांग्रेसका संस्थापक नेता ०४६ सालको जनआन्दोलनको कमाण्डर ल्हौह पुरुष गणेशमान सिंह कुनै बेला पार्टीबाट बाहिरिने अवस्था सिर्जना भयो । उहाँ जस्तो मान्छे । एमालेभित्र संस्थापक नेताहरू कति बाहिरिए, कति बाहिरिए ।’

‘माओवादीभित्र बाबुराम भट्टराई र मोहन बैद्यजीहरू कहाँ हो थाहा छैन । राप्रपाभित्र कमल थापाजी चुनाव हारेपछि पनि फेरि पार्टी फोडेर भए पनि अध्यक्ष भइहाल्नुभयो । रास्वपामा पनि राजीनामा प्रकरण शुरु हुन थाल्यो । अरु कुरा अन्य राजनीतिक दलहरूमा पनि देखिएको छ’, बस्नेतले भने ।

‘यो प्रतिशोध चाहिँ सबैभन्दा पहिला आफ्नो पार्टीकाले आफ्नैलाई सिध्याउने । आफ्नाले सिध्याउने । त्यसपछि अर्का पार्टीकाले पनि सिध्याउने । यो प्रतिशोधनमा नफस्ने हो भने सक्रिय काम केही पनि गर्न नहुने रहेछ । चुप लागेर बसिदियो । सबै यो कुरा हो भनिदियो । गतिलो नेता बन्न पनि नखोज्ने । गतिला काम गर्न पनि नखोज्ने । अहिले नेता र कर्मचारीले जसले गतिला काम गर्न खोज्यो उसलाई मुद्दा लगाइ हाल्छ’, उनले भने ।

‘यो किसिमको प्रवृत्ति हामीले जन्माएका छौँ । हामीले निम्ताएका छौँ । यताकालाई परे यता हाँसिदिने, उताकालाई परे यता हाँसिदने । ताली बजाइदिने । पालैपालो सबै भ्याइने’, सांसद बस्नेतले भने ।

उनले भने, ‘म पनि लागेको कुरा प्रष्ट बोल्ने मान्छे । पार्टीभित्र पनि खप्न पार्छ । बाहिर पनि खप्न पर्छ । यता र उती हामी भन्छौँ नि । के छिने, को कता छिराउने । कसलाई सुइकाउने । कसलाई मुद्दा लगाउने । चली आएको छ । म पनि अछुतो रहन्न । कहिले आउँछ पालो भन्ने मात्रै हो । तपाईहरू कोही अछुतो रहनु हुन्न । एकदम सक्रिय राजनीतिक जीवन, महत्वकांक्षी राजनीतिक जीवन र मुलुकलाई केही गर्न चाहन खोज्ने राजनीतिक जीवन विताउन खोज्नुभयो भने कोही सग्लो बस्ने वाला छैन ।’

‘हामी सबैले यो परिस्थिति नआउन दिनका लागि पार्टीभित्र, पार्टी बाहिर एकअर्कालाई दुश्मन होइन, सहयात्री, सहकर्मीको रुपमा भ्रातृत्वको भावनालाई विकास गर्दै जान सकियो भने होला । होइन भने यो प्रतिशोधको राजनीति, नेपालको राजनीति पाकिस्तानी मोडलमा गइसकेको छ’, बस्नेतले भने ।

‘जो सत्तामा बस्छ उ निकल्ने वित्तिकै उ जेल जानुपर्छ । त्यो हिसाब किताब गरेर बसे हुन्छ । झन् धेरै काम गर्ने मन्त्रीहरू वा प्रधानमन्त्री देश र जनतालाई गर्छु भन्यो भने त उसलाई गुण्टा कसेर बसे हुन्छ’, सांसद बस्नेतले भने ।

Published : Tuesday, 2025 May 6, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया