कांग्रेस नेतृ एवम् सांसद नागिना यादवका पिताको निधन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद नागिना यादवलाई पितृ शोक परेको छ ।

सांसद यादवका पिता प्राध्यापक जयनारायण यादवको सोमबार राति ७६ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ ।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा लामो समयसम्म प्राध्यापन गरेका जयनारायण यादव सो क्याम्पसको नेपाल प्राध्यापक संघको तीन कार्यकालसम्म सभापति रहेका थिए ।

स्व.जयनारायण यादवले शिक्षा क्षेत्रको विकास र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।

जयनारायण यादवको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ पार्टीका केन्द्रीय सदस्य एवं सांसद नागिना यादव लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Tuesday, 2025 May 6, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया