लेखा समितिका सभापतिकी सहकारी ठगकी अभियुक्त पत्नीसहित ६ जनालाई थुनामा राख्न माग

काठमाडौं । सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी छिन् ।

अन्जलासहितका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको सोही आदेश बदर गर्दै उनीहरुलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय मोरङ अदालत आएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले बताए ।

उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपियाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्द मुद्दा दायर भएको थियो ।

सभापति ऋषिकेश पत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा आफै हाजिर भएकी थिइन् । अन्जला सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन् ।

अन्जलासहित रंगेली–२ का वडाध्य्क्ष सन्तलाल खवास, ज्योती बास्कोटा, लक्ष्मीदेवी कार्की राजवंशी सुमन लोहनी र सहकारीका पूर्व सञ्चालक मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतमा निवेदन परेको छ ।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी भने पुर्पक्षको लागि कारागार चलान भैसकेका छन् ।

उस्तै मुद्दामा अदालतले फरक फरक आदेश दिएको यो प्रकरणमा मुछिएका धेरैजसो आरोपी भने अझै फरार छन् ।

Published : Monday, 2025 May 5, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया