काठमाडौं र तनहुँबाट एक करोडभन्दा धेरै रकम बरामद

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपियाँसहित काठमाडौंमा ४ जनालाई पक्राउ गरेको छ ।

आइतबार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गरेको थियो ।

पञ्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ रकम फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरू काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङको दोदी गाउँपालिका–३ कै ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।

यता, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपियाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा शहीद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

Published : Sunday, 2025 May 4, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया