प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र दाहालबीच सम्वाद भएको हो । उनीहरूका बीच टीआरसीका विषयमा छलफल भएको माओवादी नेता वर्षमान पुनले बताए ।

प्रधानमन्त्री ओलीका विज्ञ सदस्य अग्नि खरेलले टीआरसी प्रक्रियाका बारेमा भइरहेका काम र प्रगतिबारे दुवै नेतालाई जानकारी गराएको बताए ।

सत्यनिरुपण आयोगका विषयमा छलफल भएको पुनले बताए । टिआरसीका सम्वन्धमा पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका विषयमा केन्द्रित भएर दुई नेताबीच छलफल भएको नेता पुनले बताए ।

नेता पुनले भने, ‘पीडितहरूले आफ्ना सरोकोकार विषय प्रधानमन्त्री र कांग्रेस सभापतिलाई सुनाएका रहेछन् । भोलि प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग भेट्न समय लिनुभएको छ । यही सन्दर्भमा आज भेटघाट भएको हो ।’

पुनले भने, ‘टीआरसीको विषय सकारात्मकरुपमा नै अघि बढिरहेको हामीले पायौँ ।’

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी छनोेट प्रक्रिया अन्तिम चरणमा पुगेका बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

छलफलमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष दाहालका साथै माओवादीका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको सहभागिता रहेको थियो ।

Published : Sunday, 2025 May 4, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया