लुम्बिनीको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल लगायत सञ्चार सम्वद्ध प्रतिनिधिमण्डलले छलफल गरेको छ ।

आइतबार दाङको मसुरियास्थित प्रदेश सरकारले बनाउने आगामी आर्थिक वर्षको बजेटमा सञ्चार क्षेत्रबाट समेटिनुपर्ने विषय र प्राथमिकताको बारेमा छलफल गरिएको हो ।

अध्यक्ष पोख्रेलले सञ्चार संस्थाको सवलीकरण र पत्रकारहरूको पेशागत हक अधिकार सुनिश्चित हुनेगरी नीति तथा कार्यक्रम लक्षित गर्न आग्रह गरेका छन् ।

कोरोनापछि नेपाली मिडिया क्षेत्र धारासायी हुने अवस्थामा पुगेको भन्दै संचार संस्थालाई बलियो बनाउने र पत्रकारहरूको पेशागत हकहित रक्षालाई बल पुग्नेगरी कार्यक्रम बनाउन पोखरेलले सुझाव दिएका छन् ।

लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदको भूमिका बढाउनेगरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन अनुरोध गरिएको छ ।

पोख्रेलले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विधागत तालिम तथा प्रशिक्षणका लागि पनि प्रदेश सरकारले पहल लिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले १२ जिल्लामा रहेका पत्रकार महासंघको संस्थागत विकासमा समेत प्रदेश सरकारले भूमिका बढाउनेगरी कार्यक्रम बनाउन सुझाव दिएका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सञ्चार माध्यमको सवलीकरणका लागि नीतिगत रुपमा स्पष्ट भएको, सञ्चार समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन नीतिमा सुधार गर्न थालिएको, सञ्चार माध्यमलाई बलियो बनाउन प्रदेश तहबाट गरिने विज्ञापन वितरणमा एकरुपता गरिने बताएका छन् ।

प्रदेश स्थापना भएदेखि नै सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउँदै आएको बताएका छन् ।

सुशासन, जवाफदेहीता र पारदर्शिताका लागि सञ्चार क्षेत्र बलियो हुनुपर्ने र त्यसका लागि प्रदेश सरकारले समेत ध्यान दिएको मुख्यमन्त्री आचार्यले बताए ।

Published : Sunday, 2025 May 4, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया