नीति तथा कार्यक्रमहरूमा धेरै कुराहरू समेटिएका छन् : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारको तर्फबाट राष्ट्रपतिबाट संसदमा प्रस्तुत नीति तथा कार्यक्रमलाई सकारात्मक भन्दै त्यसको पक्षमा धारणा राख्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रमहरूमा धेरै कुराहरू समेटिएका छन् । जुन राष्ट्रिय आवश्यक्ताहरू हुन् ।’

‘ती आवश्यक्ताहरू हामीले पनि चाहेका कुरालाई समेटेर आएको हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावहरूसहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने निर्णय भएको छ’, घिमिरेले भने ।

उनले भने, ‘नीति तथा कार्यक्रम त आयो त्यसलाई कार्यान्वयनमा लैजानको लागि बजेटमा समावेशी हुनुपर्छ । आगामी बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसावले बजेटको तर्जुमा गरियोस् भन्ने हिसाबले त्यसका विषयमा निर्णय गरेका छौँ ।’

कांग्रेसले विधेयकहरू निर्माणको काममा ढिलासुस्ती भएको भन्दै कामलाई तिब्रता दिने निर्णय गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने, ‘विधेयक निर्माणको गति अलिक सुस्त भएको जस्तो हामीलाई पनि महशुस भएको छ । विधेयक निर्माणको गति सुस्त हुँदा त्यसले पारेका प्रभावहरू धेरै हुने भए ।’

‘त्यसले गर्दा विधेयक निर्माणको गतिलाई तिब्र बनाउनको लागि नेपाली कांग्रेसले अत्यन्तै सक्रियतापूर्ण ढंगले संसदमा र विशेष समितिहरूमा भूमिका खेल्नुपर्छ’, उनले भने ।

‘कांग्रेसले देखिने गरी र त्यसको परिणाममुखी ढंगले संसदमा भूमिका खेल्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ’, प्रमुख सचेतक घिमिरेले भने ।

प्रमुख सचेतक घिमिरेले भने, ‘शिक्षक संघसँग गरिएको वार्ता छ । असार १५ गतेभित्रमा यो विधेयक दिन्छौँ भन्ने प्रतिनिधि सभाबाट पारित गर्छौं भन्ने शिक्षकहरूसँग सम्झौता गरेका छौँ । त्यो सम्झौता बमोजिम हामीले असार १५ गतेभित्र विधेयक पारित गर्ने गरी काम गर्छौं भन्ने प्रतिवद्धता जाहेर गरेका छौँ ।’

कांग्रेसले उडिसामा प्रिसा साहको मृत्यु, बेलायतमा नेपाली युवकको मृत्यु र पहलगाम घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेको छ ।

प्रमुख सचेतक घिमिरेले भने, ‘उडिसामा अहिले फेरि अर्को घटना भएको छ । केआईआईटीमा र त्यो ईन्स्च्युटमा भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गर्दै र बेलायतमा भएको घटनाप्रति, पहलगाममा घएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले घटनाको निन्दा गरेको छ । नेपालीहरूको मृत्यु भएको छ । तिनीहरूको जाँचबुझको पनि नेपाली कांग्रेसले माग गरेको छ ।’

त्यसैगरी कांग्रेसले पूर्वसांस तीर्थराम डङ्गोलको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

Published : Saturday, 2025 May 3, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया