विपक्षीले विरोध गर्ने भएकाले तिनका कुराकाे पछि लाग्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी ओलीले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएको बताएका छन् ।

शनिबार काठमाडौंमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नीति तथा कार्यक्रमलाई ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसदहरूलाई निर्देशन दिए ।

ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।

उनले भने, ‘हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुु पर्दैन ।’

‘हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ’, ओलीले भने, ‘हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’

ओलीले भने, ‘हाम्रो दलमा वैचारिक एकता रहेको छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसदका गतिविधिमा अझ प्रभावकारीरुपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छुु ।’

Published : Saturday, 2025 May 3, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया