निरञ्जनी अखडाका प्रमुख स्वामी धार्मिक भ्रमणका लागि नेपालमा, कांग्रेस नेता खाणद्वारा स्वागत

काठमाडौं । भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी धार्मिक भ्रमणका लागि नेपाल आएका छन् ।

स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर पूजाअर्चना गरिरहेका छन् । भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आएका हुन् । उनी वैशाख २६ गतेसम्म नेपाल बस्नेछन् ।

वैशाख १६ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजाका लागि गएका गिरीलाई पशुपति क्षेत्र विकास कोषले स्वागत र सम्मान गरेको छ । सम्मानपछि मन्दिरमा विशेष पुजाआज गरेका उनी त्यसैदिन पोखरा गएका थिए । वैशाख १७ गते पोखरामा आयोजित कोटिहोमको उद्घाटन गरेका छन् ।

गिरीले शुक्रबार मुस्ताङको दामोदर कुण्डमा पूजा गरेर पोखरा फर्किएका छन् । गिरी २१ गते लुम्बिनी पुगेर बुद्धको जन्मस्थल र मायादेवी मन्दिरको अवलोकन गर्नेछन् । उनले वैशाख २२ गते रसुवाको गोसाइकुण्डमा पूजा गर्ने कार्यक्रम तय भएको छ । वैशाख २३ गते काठमाडौंमा रहेको दक्षिणकाली मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

गिरी वैशाख २६ गते नयाँ दिल्ली फर्किने कार्यक्रम तय भएको छ । भारतमा निरंजन पीठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पूज्य स्वामी कैलाशानन्द गिरी चिनिने उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरू बताउँछन् ।

गिरीलाई भारत पुगेको बेलामा अधिकांश नेपाली नेताहरूले भेट्ने गरेका छन् । गिरीलाई नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेलामा पूर्वगृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेश नेपाली कांग्रेसका उपसभपाति समेत रहेका पूर्वमन्त्री राजु खनालसहितका नेताहरूसहितले स्वागत गरेका थिए ।

Published : Friday, 2025 May 2, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया