केआईआईटी कलेजको घटनामा रास्वपाकी सुमनले भ्रम फैलाएपछि रजिष्टारद्वारा खण्डन

काठमाडौं । भारतको उडिसास्थित केआईआई कलेजका रजिस्टार डा.जे.आर.मोहन्तीले केआईआईटी कलेज विद्यार्थीको निधन भएको घटनामा सुरक्षाकर्मीहरूले तत्काल अनुसन्धान शुरु गरिसकेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत केआईआईटीका रजिष्टार डा.मोहन्तीले विभिन्न घटनाहरूका विषयमा आइरहेका सूचनाहरूमा सत्यता नरहेको बताएका छन् ।

बिहीबार नेपाली विद्यार्थी प्रिशा साहको शव कलेजको होस्टलमा रहेको आफ्नो कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । शव भेटिनेवित्तिकै स्थानीय सुरक्षाकर्मीले प्राविधिक टोलीसहित घटनाको सुक्ष्म अनुसन्धान शुरु गरिसकेको छ । सो घटनालाई लिएर पूर्वशिक्षा तथा प्रविधिमन्त्री समेत रहेकी रास्वपाकी सांसद सुमना श्रेष्ठले दुई जना छात्राले आत्महत्या गरेको भनेकी छिन् ।

सांसद श्रेष्ठले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘दुई जना छात्राले आत्महत्या गरेका छन् । हिजो बेलुका नै एक जना भारतीय छात्राले आफू र आफ्ना साथीहरूले क्याम्पसको प्राङ्गणभित्र, विश्वविद्यालयको सुराक्षाकर्मीहरू कै अगाडि दुर्व्यवहार र चक्कु आतंकको शिकार बन्नु परेको कुरा लेखेकी छिन् । अझ अन्य विद्यार्थी भनछन्, अहिले त्यहाँको इन्टरनेटको नेटवर्कमा फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । विद्यार्थीलाई सूचना आदनप्रदान गर्नबाट समेत वञ्चित गरिँदै छ ।’

केआईआईटी कलेजका विषयमा रास्वपाकी सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत भ्रामक सूचनाहरू सम्प्रेषण गरेपछि रजिष्टारले खण्डन गरेका छन् । रजिष्टार डा.मोहन्तीले सांसद श्रेष्ठलाई मेन्सन गरेर आरोपहरूको खण्डन गरेका छन् ।

डा.मोहन्तीले भने, ‘हामी स्पष्ट पार्छौं कि सार्वजनिक गरिएको जानकारी सही छैन । यो मामिला हाल प्रहरी अनुसन्धानमा छ । वरिष्ठ प्रहरी अधिकारीहरूले वैज्ञानिक टोलीसँगै तत्काल प्रारम्भीक अनुसन्धान गरे र प्रक्रियाहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् ।’

‘केआईआईटीले अधिकारीहरूलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ’, डा.मोहन्तीले भने ।

‘हामी सबैलाई विशेष गरी यस्तो संवेदनशील समयमा आधिकारिक स्रोतहरूबाट प्रमाणित कुराहरूमा मात्र भर पर्न हार्दिक अनुरोध गर्दछौं ।’

Published : Friday, 2025 May 2, 4:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया