भारतको उडिसामा प्रिशा शाहको मृत्यु, परराष्ट्रमन्त्री डा.राणाद्वारा कुटनीतिक पहल

काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा फेरि एकजना नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन् ।

विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेको भारतीय मिडियाहरूले जनाएका छन् । नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा घटनाम प्रिशा शाहको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्थानीय प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमहरूले छात्रावासको ढोका खोलेर हेर्दा आत्महत्या गरेको अवस्थामा प्रिशा शाह भेटिएको बताएका छन् । प्रिशा शाह बिटेक अध्ययनरत रहेकी थिएन् ।

भारतीय मिडियाका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको छ । प्रहरीले बयान लिई शव फरेन्सिक परीक्षणका लागि लगेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।

यसैबीच, परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली छात्रा मृत भेटिएको घटनालगत्तै सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालिएको बताएकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परराष्ट्र डा.राणाले घटनालगत्तै बिहीबार नै दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको छानबिन गर्न कुटनीतिक पहल थालिएको बताएकी हुन् ।

उनले भनेकी छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’

घटनापछि उडिसा सरकारले पनि विज्ञप्ती जारी गरी घटनाको छानबिन सुरू भएको जानकारी दिएको छ ।

घटनालगत्तै मृतकको परिवारलाई जानकारी गराइएको छानबिनका लागि प्रहरी खटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले केआईआईटीमा फेरि नेपाली विद्यार्थी मृत भेटिएको घटना दुःखद् भनेको छ ।

Published : Friday, 2025 May 2, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया