युरोप, मिडिल ईष्ट, एशियाबाट आमन्त्रित सदस्यमा छुटेका छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युरोप, मिडिल ईष्ट लगायतका मुलुकहरूबाट आमन्त्रित केन्द्रीय सदस्य बनाउने विषयमा महाधिवेशनबाट उपयुक्त निर्णय गर्ने बताएका छन् ।

बिहीबार वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले अमेरिका र भारतबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित केन्द्रीय सदस्य रहेको बताए । उनले अन्य मुलुकहरूबाट प्रतिनिधित्व गराउनुपर्ने बताए ।

उन भने, ‘विदेशमा रहेका जनसम्पर्क समितिहरूमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र ईण्डियाले पाएको छ । आमन्त्रित केन्द्रीय सदस्यको रुपमा तर, युरोप छुटेको छ । मिडिल ईष्ट पनि छुटेको छ । एशिया पनि छुटेको भन्ने आएको छ । हामीले आउँदो पार्टीको महाधिवेशनमा पार्टीको विधानलाई संशोधन गरेर उहाँहरूलाई पनि प्रतिनिधित्व गराउने छौँ ।’

सभापति देउवाले भने, ‘नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको एक अभिन्न अङ्गको रुपमा रहेको छ । तपाईहरूको अध्ययन, रोजगारी, विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा मुलुक बाहिर रहेर पनि देश र जनताको बारेमा चिन्ता गरिरहनु भएको छ ।’

‘यो वर्गले हाम्रो समाजको जाने बुझेका समूहको प्रतिनिधित्व गरेको छ’, देउवाले भने, ‘तपाईहरूलाई पार्टीको गतिविधिमा समानरुपमा समावेश गराउँदै जनसम्पर्क समिति गठन गर्दै आएका छौँ ।’

उनले भने, ‘पार्टीको महाधिवेशन, महासमितिको अलावा समान नागरिकलाई अधिकार दिने विषयमा पनि हामीले प्रयास गरिरहेका छौँ ।’

‘तपाईहरूले विदेशमा हासिल गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा लगानी गरेर आर्थिक, सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गर्नुपर्नेछ हामीलाई निर्धक्क भन्नुस्, हामीले राष्ट्रिय सहमति गराएर त्यसलाई पारित गराउने छौँ’, देउवाले भने ।

‘विदेशमा रहेका नियोगहरूलाई सक्रिय बनाएर त्यहाँ आइपरेका समस्याहरू समाधान गर्ने, प्रवासमा रहेका नेपालीहरूलाई अध्ययन, रोजगारी र व्यवसायमा सघाउने ढंगले राज्यका निकायहरूलाई परिचालन गराउने हामी सबै क्रियाशील रहने छौँ’, उनले भने, ‘तपाईहरूले पनि एकअर्कालाई सघाउनेमा विश्वस्त छु ।’

सभापति देउवाले भने, ‘विश्वको जुनसुकै स्थानमा भए पनि नेपालीहरूलाई सम्मान प्रकट हुने अवस्था तपाईहरूले सिर्जना गर्नु हुनेछ । जुन देशमा नेपालीहरू छन् त्यो देशका जनताले नेपालीहरूप्रति सम्मान गरेको मैले पाएको छु ।’

‘नेपालमा लोकतन्त्रलाई बचाउन तपाईहरू जस्ता शिक्षित, अनुभवी परिश्रमी नागरिकले नेपाली कांग्रेसलाई मन, बचनले निरन्तर बचाउनु पर्ने अवस्था छ’, सभापति देउवाले भने ।

Published : Thursday, 2025 May 1, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया