निर्ममतापूर्वक दवाउने नीति अख्तियार गर्दै सरकारले वीपी लगायत नेतालाई पक्राउ गर्‍याे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभ–कामना प्रदान गरेका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गरेर पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गरेका हुन् ।

उनले नेपालको मजदुर आन्दोलनका विषयमा स्मरण गरेका छन् । देउवाले भने, ‘नेपालमा वि.सं. १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भए पश्चात वि.सं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो ।’

‘सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार ग¥यो’, देउवाले भने, ‘त्यतिबेला जननायक वीपी कोइराला लगायत धेरै नेताहरूलाई पक्राउ गरिएको थियो ।’

‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो’, देउवाले भनेका छन् ।

उनले भने, ‘त्यसैले नेपाली कांग्रेस र मजदुरहरू सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

सभापति देउवाले भने, ‘विक्रम संवत् २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदुरहरूलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो ।’

‘नेपाली श्रम बजारको उन्नतिका लागि नेपाली कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो’, देउवाले भने, ‘नेपाली कांग्रेसको नेतृत्वको सरकारले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन निर्वाह गरेको भूमिका सबैलाई अवगत नै छ ।’

देउवाले भने, ‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूले अनेक समस्याहरूलाई बेहोरिरहन परेको छ । उहाँहरूको समस्यालाई समाधान गरेर श्रमिक वर्गको हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा उहाँहरूको कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेशागत मर्यादा र सम्मानका लागि नेपाली कांग्रेस क्रियाशील रहेको छ ।’

उनले भने, ‘श्रमिक मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनले सम्पूर्ण श्रमिक मजदूर वर्गमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिदै उहाँहरुको सुख, शान्ति र समृद्धिको पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको संघर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् र श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रुपमा नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ ।

Published : Thursday, 2025 May 1, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया