गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर नियुक्ति गरोस् : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गभर्नर नियुक्ति छिटो गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले गभर्नर नियुक्तिका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
उनले भने, ‘अहिले बजेट अधिवेशन हो । बजेट अधिवेशनको बेला मौद्रिक नीति र वित्तीय नीतिको पनि मूल्यांकन गर्ने बलामा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर राम्रो गरी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भयो । तुरुन्त सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस् ।’
सांसद खतिवडाले आन्दोलनरत शिक्षकका मागहरू पूरा गर्न आग्रह गरेका छन् । उनले भने, ‘शिक्षक नेपाली कांग्रेस, एमाले र माओवादीका मात्रै होइनन् । सम्पूर्ण देशका हुन् । सबैलाई पढाउने शिक्षक हुन् । उनीहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउनेका रुपमा व्यवस्थापन नगरियोस् ।’
‘तुरुन्त विद्यालयमा पठाउने वातावरण सिर्जना गरियोस् । शिक्षकका जायज मागहरू पूरा गर्न सरकार लागोस् र शिक्षामन्त्री नवनियुक्त हुनुहुन्छ । यहाँ आएर जवाफ दिने वातावरण सिर्जना होस्’, सांसद खतिवडाले भने ।
बिचार/ब्लग
विश्वप्रकाशलाई केन्द्रीय सदस्य गुरुङको पत्र
कल्याण गुरुङ

फेसबुकबाट तपाईको प्रतिक्रिया