१७ अर्ब ८६ करोड ७० लाख अबैध कारोबार, व्यूरोद्वारा मानिसहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई पक्राउ गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरेर व्यूरोले २१ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय वीरेन्द्रप्रसाद साह, ३१ वर्षीय दीपेन्द्रप्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवणकुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय रामविलास साह तेली, ३२ वर्षीया ममताकुमारी साह रहेका छन् ।
३१ वर्षीया सुशीलाकुमारी साहु, २२ वर्षीय शम्भु मेहता, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोजकुमार महतो, ४५ वर्षीया अलितादेवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरूणकुमार साह, ४४ वर्षीय संजीवकुमार महतो, पर्साका २६ वर्षीय प्रदीपकुमार साह, ३२ वर्षीय बिकर्णजंग राणालाई पनि व्यूरोले पक्राउ गरेको छ ।
३८ वर्षीय सलमा खातुन, नवलपरासीका २२ वर्षीय राजकमल लोनिया, ४३ वर्षीया भीमकुमारी गुरूङ, ३४ वर्षीय गणपति पाण्डे र चितवनका ६४ वर्षीय गोविन्दप्रसाद आचार्यलाई पनि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको व्यूरोले जनाएको छ ।
अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि पैसा बोक्ने भरियाहरूलाई परिचालन गरी ठूलो परिमाणमा नगदै रकम खातामा नियुक्ति गर्ने गरेको खुल्न आएको व्यूरोले जनाएको छ ।
विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरू मार्फत ई–मनि बनाई सो रकमलाई रेमिटेन्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको समेत खुल्ल आएको छ ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपियाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया