आतंकवादविरुद्धको लडाइँमा नेपाल सधैँ भारतको साथमा छ : कांग्रेस सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले पहलगाम आतंकवादी हमलाको निन्दा गर्दै आतंकवादले देशको सिमाना नचिन्ने बताएकी छिन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले नेपाल भारतसँग आतंकवादविरुद्धको लडाइँमा सँगै रहेको बताइन् । उनले नेपाल–भारतबीच रहेको खुला सिमानामा विशेष निगरानी बढाउन पनि सुझाव दिएकी छिन् ।

उनले नेपाल र भारतको सिमानामा सुरक्षा सतर्कता बढाउन आग्रह गरेकी छिन् । उनले सिमानामा बस्ने सुरक्षाकर्मीलाई सर्तकता अपनाउन अनुरोध गरेकी हुन् ।

सांसद चौधरीले भनिन्, ‘पहलगाममा भएको आतंकवादी आक्रमण दक्षिण एशिया क्षेत्रको पहिलो पटक भएकोले निन्दनीय घटना हो । कायरतापूर्ण ढंगबाट गरिएको यो मानवीय आक्रमण प्रथम दृष्टिमा नै भर्त्सना योग्य छ । आक्रमणमा परेर नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना भारतीय नागरिकले हिन्दु भएकै कारण ज्यान गुमाउनु परेको छ ।’

‘मृतकहरूप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु’, उनले भनिन् ।

‘निःसशस्त्र र निर्दोष सर्वसाधारणलाई लक्षित गरी यस्तो क्रुर हिंस्रक र आततायी आक्रमण आतंकवादी बाहेक अरु कुनै संगठन समूह या व्यक्तिले गर्न सक्दैन । अतंकवादी कदापि स्वीकार्य हुन सक्दैन’, सांसद चौधरीले भनिन्, ‘भारत लक्षित यस्ता बारम्बारका आतंकवादी हमलाको नेपालले सधैँ निन्दा र विरोध गर्दै आएको छ ।’

‘यस पटक पनि नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ ।
प्रधानमन्त्री केपी ओलीज्यूले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग टेलिफोन वार्ता गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सधैँ भारतको साथमा रहेको स्पष्ट पार्नुभएको छ’, कांग्रेस सांसद चौधरीले भनिन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आरजु राणा लगायत नेपालका सबै राजनीतिक दलले पहलगाम आतंकवादी आक्रमणको निन्दा एवम् भर्त्सना गर्नुभएको छ ।’

उनले भनिन्, ‘राष्ट्रधर्म, जाति, भाषा, धर्म, क्षेत्र आदि जुनसुकै आवरणको नाममा आतंकवादले मानवतालाई सधैँ हानी पु¥याउँछ । जनधनको क्षतिसँग अस्थिरतासँग तनाव बढाएको छ । आतंकवादले कुनै समाधान दिएको छैन । सधैँ गतिरोध र भयको सिर्जना मात्रै गरेको छ ।’

‘धर्मलाई आधार बनाएर हिंसाको प्रयोग गर्नु धर्मकै अवमूल्यन हो । धर्मको उद्देश्य अध्यात्मिक, शान्ति, संहिष्णुता, स्थिरता, मानवता हो’, चौधरीले भनिन्, ‘साम्प्रदायिकता र हिंसा होइन ।’

‘आतंकवादी आक्रमणको क्षणमा नेपाली समाज भारतको पक्षमा दृढतापूर्वक खडा हुन स्वभाविक र आवश्यक हो । आतंकवादले देशको सीमा चिन्दैन । त्यसलाई समयमा नियन्त्रण नगर्ने हो भने त्यो जतासुकै फैलिन सक्छ’, सांसद चौधरीले भनेकी छिन् ।

यसैबीच, सांसद चौधरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले कांग्रेस सह–महामन्त्री र उनका छोराप्रति लक्षित अभिव्यक्तिको कडा शब्दमा विरोध गरेकी छिन् । लिङ्देनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै चौधरीले पुष्टि हुने गरेर अभिव्यक्ति दिन राप्रपाका अध्यक्ष लिङ्देनलाई सचेत गराएकी छिन् ।

Published : Sunday, 2025 April 27, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया