प्रहरी संगठनको हित र कर्मचारीहरूको वृत्ति विकासका रचनात्मक कार्यहरू गर्नुपर्छ : आईजीपी थापा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा
चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा भएको छ ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समीक्षा बैठकमा थापाले सांगठनिक हित र संस्थागत विकासका निमित्त
संगठनका प्राथमिकताहरू पहिचान गरी नेपाल प्रहरी कार्ययोजना तयार गरिएको बताए । उनले कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।

वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताएका छन् ।

आईजीपी थापाले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताए ।

उनले प्रहरी कर्मचारीहरूको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाही चुस्त र प्रभावकारी बनाउन कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको समीक्षाद्वारा आ–आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरि आगामी दिनमा अझ उपलब्धीमूलक हुने बताए ।

कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही यसका अतिरिक्त प्रहरी संगठनको वृहत्तर हित र
कर्मचारीहरूको वृत्ति विकासका निम्ति अन्य नविनतम्, सृजनशील र रचनात्मक कार्यहरू गर्नेतर्फ अग्रसर हुन सबै प्रहरी कर्मचारीहरूलाई आईजीपी थापाले निर्देशन दिएका छन् ।

Published : Sunday, 2025 April 27, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया