गलत व्यक्तिका कारण जनताले दुःख पाउँछन्, खेलकुदको बजेटमा सहयोग गर्छु : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले गलत पार्टी र व्यक्तिको हातमा राजनीति जाँदा देश र जनताले दुःख पाउने बताएका छन् ।

ललितपुरको सातदोबाटोमा आयोजित ‘प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगिता २०८२’लाई सम्बोधन गर्दै सभापति बानियाँले भने, ‘राजनीति गलत पार्टी र गलत व्यक्तिको हातमा गयो भने देशले दुःख पाउँछ । राष्ट्रमा बस्ने जनताले दुःख पाउँछन् ।’

‘ठीक व्यक्तिको हातमा राजनीति गयो भने त्यो राजनीतिले एउटा दिशा दिन्छ’, उनले भने, ‘समाजलाई सपनाको बाटोमा लैजान्छ ।’

सभापति बानियाँले भने, ‘रक्सी खाए अहिले मान्छेलाई लाग्छ । दुध खाए लाग्दैन । मान्छेलाई अहिले खाएर लाग्ने रक्सी चाहिएको छ ।’

सभापति बानियाँले बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा दिएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन् ।

उनले उनले भने, ‘शेरबहादुर देउवा मीनकृष्ण महर्जनज्यूको अग्रसरता र नेतृत्वमा हुन लागेको छ । पहिला पहिला मलाई लाग्थ्यो मीनकृष्ण महर्जन भनेको राजनीतिक मान्छे होइन जस्तो लाग्थ्यो ।’

‘खेलसँग जोडिएको मान्छे हो । राजनीतिसँग जोडिएको मान्छे हो जस्तो लाग्दैन थियो । पछिल्लो समय धेरै गतिविधिमा नजिकबाट पार्टीको महाधिवेशनसम्म उहाँले गरेको वीरगणेशमान सिंह किक बक्सिङ, किशुनजी र शेरबहादुर देउवा कप प्रतियोगिता गरेर मीनकृष्ण महर्जनले आफूलाई खेल र राजनीतिमा सफल बनाउनुभएको छ’, बानियाँले भने ।

सभापति बानियाँले रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गरेर खराब काम गर्नेहरू जेलमा बस्नु परेको बताएका छन् ।
उनले भने, ‘अमेरिकामा भ्रम सिर्जना गरेर, ठगी गरेर खान पाइँदैन । केही गरिखान नसकेर भागेर हतार हतारमा नेपाल आएर भाँडभैलो कुरा गरेर, भ्रमको कुरा सिर्जना गरेर, पार्टीको रुपमा स्थापित भएको मान्छेहरू छन् ।’

‘ती मान्छेहरू आज किन जेल गए ? तिनले ठीक काम गरेको भए नेपालमा सम्भावना नदेखेर अमेरिका गएर अमेरिकामा टिक्न नसकेर नेपाल फर्किएर आएर मकै पोल्ने, रिसक्सा चलाउनेहरूले सहकारीमा जम्मा गरेको पैसा ठगेर मुलुकलाई बर्बाद बनाउने र जनतालाई ठगेका कारण अहिले जेलमा गएर बस्नु परेको छ’, उनले भने ।

सभापति बानियाँले भने, ‘मीनकृष्ण महर्जनजीले गणेशमान सिंह, किशुनजीको नाममा राष्ट्रिय खेलकुद प्रतियोगिताहरू गर्नुभएको छ । शेरबहादुर देउवा कप प्रतियोगिता गरेपछि एउटा परम्परा बस्छ । हाम्रा अग्रजहरूलाई सम्मान गर्छैं ।’

‘मीनकृष्ण महर्जनले खेलकुदमा बनाएको बजेटले खेलाडी र खेलकुद क्षेत्रमा काम गर्नु हुनेछ’, बानियाँले भने, ‘म सभापतिको हैसियतले खेलकुदमा पर्याप्त बजेट ल्याउन सहयोग गर्नेछु ।’

Published : Saturday, 2025 April 26, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया