कांग्रेसले काठमाडौंबाट लोकप्रिय नेता गुमायो, टेकु दोभानमा अन्त्यष्टि

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापति तीर्थराम डङ्गोलको निधन भएको छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्री एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा शनिबार जारी शोक वक्तव्यमा उल्लेख छ ।
डङ्गोल विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित रहेका थिए । डङ्गोलको पार्थिव शरीरलाई आज वैशाख १३ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
तत्पश्चात अपरान्ह २ बजे काठमाडौंको टेकु दोभानमा दाहसंस्कार गरिएको कांग्रेसले जनाएको छ ।
नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत रहेका स्व.डङ्गोल विक्रम संवत् २०४३ मा काठमाडौं नगरपालिकाको उप–प्रमुखमा निर्वाचित भएका थिए ।
स्व.डङ्गोल २०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित र २०६४ मा संविधान सभाको सदस्य रहेका थिए ।
निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट डङ्गोलले जनआन्दोलनको नेतृत्व गरेका थिए ।
नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा डङ्गोलले पटक–पटक जेल जीवन समेत बिताएका छन् ।
स्व.डङ्गोलले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
विक्रम संवत् २००४ साल माघमा जन्मिएका डङ्गोलले ‘काठमाण्डू कांग्रेस र तीर्थराम’ नामक पुस्तक समेत लेखेका छन् । उनी र धर्मपत्नीको नाममा ‘तेज–तीर्थ ट्रष्ट’ संचालनमा रहेको छ । ट्रष्टले हरेक वर्ष ३ वटा विधाहरू ‘पत्रिका’, ‘मानव अधिकार र लोकतन्त्र’ र ‘नेपाल भाषा साहित्य’मा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई एक/एक लाखको पुरस्कार प्रदान र सम्मान गर्दै आइरहेको छ ।
लोकतन्त्रको रक्षा र ऐतिहासिक आन्दोलनहरूमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई गणेशमान शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा प्रदान गरिने स्वर्ण पदकले डङ्गोल सम्मानित भएका थिए । स्व.डङ्गोल नेपाल राष्ट्रिय सम्वत् मूल समारोह समितिका पूर्व अध्यक्ष समेत हुन् ।
नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डङ्गोलको निधनबाट नेपाली कांग्रेसले कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया