लुम्बिनीको संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माण तथा प्रदुषणको प्रभावबारे सम्मेलनमा छलफल

लुम्बिनी । लुम्बिनीको संरक्षण र प्रवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण तथा प्रदुषणका कारण परेको प्रभावबारे सुधारको लागि पहल गर्ने निष्कर्षसहित ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सम्पन्न भएको छ ।

लुम्बिनीमा बुधबार र बिहीबार दुई दिन सम्मेलन भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ)ले सम्मेलनको समापन गरेका छन् ।

डा.लामाले विश्व सम्पदा सम्मेलनले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्दै सम्मेलन समापन घोषणा गरेका हुन् ।

लुम्बिनी विकास कोषको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को र आईकोमोस नेपालको सहयोगमा आयोजित सम्मेलनले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षण बारे स्थलगत अनुगमन निरीक्षण गर्दै
लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र लुम्बिनीलाई आध्यात्मिक बनाउने विषयमा
विशेषरुपमा छलफल र विमर्श भएको थियो ।

सम्मेलनमा लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराज शाक्यले पुरातत्व विभाग र युनेस्कोले दिएको निर्देशन र सुझावको आधारमा गरेको कार्यप्रगती प्रस्तुत गरेका छन् ।

सम्मेलनमा डरहम विश्वविद्यालय युके प्राध्यापक रोबिन कोनिङ्घमले पुरातात्विक खोज तथा अनुसन्धान बारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

लुम्बिनी विकास कोषको विश्व सम्पदा इकाईका वरिष्ठ निर्देशक तथा प्रमुख ज्ञानिन राईले तीर्थयात्रा व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलनमा सम्पदा व्यवस्थापनमा अन्तर्राष्ट्रिय विशेषज्ञ डा. काई वेइसले पुरातात्विक महत्व र गुम्बा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष गेशे जिग्दोलले लुम्बिनीमा धार्मिक महत्व बारे चर्चा गरेका छन् ।

लुम्बिनीको संरक्षण र प्रवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदुषणका कारण परेको प्रभावबारे सुधारको लागि पहल गर्ने सम्मेलनको निष्कर्ष रहेको छ ।

Published : Thursday, 2025 April 24, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया