पहलगाम आतंककारी हमला मानवता विरोधी क्रुर आततायी घटना : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाकाे निन्दा एवम् भर्त्सना गरेका छन् ।

बिहीबार नेता भण्डारीले विज्ञप्ति जारी गरेर भने, `पहलगाममा गत ९ बैशाखका दिन पर्यटकको एक समूहमाथि अतिवादी मुश्लिम बन्दुकधारी आतङ्ककारीहरूबाट एक नेपाली सहित २६ जना व्यक्तिको मृत्यु तथा दर्जनौं घाइते भएको मानवता विरोधी क्रुर आततायी घटनाकाे कडा शब्दमा निन्दा गर्दछु ।´

`नेपाली भूमिबाट शुरू गरिएको यो अभियान दुःख र पीडाको क्षणमा भारतीय जनता र भारत सरकारप्रति भावुक वन्दै गहिरो सहानुभूति प्रकट गर्दछ´, उनले भने ।

`कट्टरपन्थी मुश्लिम बन्दुकधारी आततायीहरू पर्यटकहरूको भीडमा नाम थर र धर्म सोधीसोधी हिन्दूहरूमाथि गरिएको यो नियोजित नरसंहारको घटना विश्वभरीका वैदिक सनातन धर्म र संस्कृतिमाथिको एक सुनियोजित हमला हो भन्ने हाम्रो ठहर छ´, नेता भण्डारीले भने ।

`यो घटना विश्वभरीका वैदिक सनातन धर्म र संस्कृतिका अनुयायी हिन्दूहरूको लागि गहिरो चिन्ताको विषय हो । विश्वका जुनसुकै भू–भागमा वस्ने हिन्दूहरू माथि हुने यस प्रकारका मानवता विरोधी आततायी हमला र हत्याको घटनाबाट विश्वभरीका वैदिक सनातन धर्म र संस्कृतिका अनुयायीहरूको आस्थाको केन्द्र, ऋषि महर्षीहरूको तपोभूमि, पवित्र हिमाली राष्ट्र नेपाल र नेपाली जनता थप संगठित वन्दै सतर्क रहन जरूरी भएको छ´, उनले भने ।

`आतङ्ककारी घटनामा परी निधन हुनु भएका बुटवल नगरपालिक वडा नं. १, कालिकानगर, रूपन्देहीका नेपाली नागरिक सुदिप न्यौपाने सहित सबै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आक्रमणमा परी निधन हुनु भएका सबैको आत्माको चीरशान्तिको कामन गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौं´, कांग्रेस नेता भण्डारीले भने ।

Published : Thursday, 2025 April 24, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया