स्वीकृत विना जग्गा बैना, निक्षेप र कर्जा मिलाई दिन्छु भनेर गैह्र कानूनी कार्य नगर्न लालीगुराँसको चेतावनी

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरले संस्थालाई पुनः संचालनमा ल्याउनको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सहजीकरण गर्न अनलाईन वचत रकम मागदावी फिर्ता गर्न विशेष अनुरोध गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर लालीगुराँसले संस्थाका केही कर्मचारीहरूबाट निलम्बित संचालक समितिसँग समन्वय नगरी र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको स्वीकृत विना कारोवार मिलाउछु भनी जग्गा बैना गर्ने, निक्षेप र कर्जा मिलाई दिन्छु भनेर गैह्र कानूनी गतिविधि गरिरहेको जनाएको छ ।

लालीगुराँसले भनेको छ, ‘टेलिफोन गर्ने भेटघाट गर्ने, निश्चित प्रतिशत कमिशन माग गर्ने जस्ता कार्यहरू केही सदस्यहरूको समेत मिलेमतोमा भइरहको जानकारी प्राप्त भएको हुँदा सम्बन्धित निकायको स्वीकृति तथा निर्णय विना उक्त कार्यहरूमा सहभागी नभई दिनुहुन समेत हामी हार्दिक अनुरोध गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको लगानीमा रहेको कर्जाको आजको मितिसम्मको व्याज तथा जरिवाना व्याज हिसाव गर्दा करिव ८ अर्ब बरावरको कर्जा लगानी हिसाव देखिन आउँछ भने संस्थाको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा सम्पत्तिको वर्तमान बजार मूल्यमा हिसाव गर्दा ११ अर्बभन्दा बढीको सम्पत्ति संस्थासँग रहेको छ ।’

‘सदस्यहरूलाई तिर्नुपर्ने दायित्व (निक्षेप) ६ अर्ब ३५ करोड र अन्य दायित्व समेत हिसाव गर्दा ७ अर्बभन्दा कमको दायित्व हिसाव रहेको छ’, लालीगुराँसले भनेको छ ।

‘हामीले पेश गरेको कार्ययोजना बमोजिम, निश्चित सफलता प्राप्त गरे पश्चात संस्थालाई पुनः संचालनमा ल्याउने हाम्रो प्रयास रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘त्यसमा अवश्य पनि हामीले सफलता प्राप्त गर्ने छौं । यस अवधिमा सदस्य महानुभावहरूलाई अधिक पीडा भएको छ’, लालीगुराँसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा हामी चिन्तित रहेका छौं । कुल सदस्यहरूमा ९८ प्रतिशत सदस्यहरू संस्था पुनः संचालनमा आउनु पर्दछ भन्ने पक्षमा रहेका छन् भने २ प्रतिशतभन्दा कम सदस्यहरूले मात्र संस्थामा आवद्ध केही कर्मचारी साथीहरूलाई प्रयोग गरी विगतमा साधारण सभाले पास गरीसकेको विषयहरूलाई ईश्यु बनाई ग्रुप बनाउने, नकारात्मक म्यासेज गर्ने, सम्बन्धित निकायमा अनावश्यक दवाव दिने, संचालकहरूलाई जेल हाल्नु पर्दछ भन्ने जस्ता कुराहरू गरी समितिलाई नियमित आफ्नो कार्य गर्न असहयोग गर्ने जस्ता गतिविधि गर्दै आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

Published : Tuesday, 2025 April 22, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया