गणतन्त्रलाई अराजक भीडले हल्लाउन सक्दैन, राजावादी आन्दोलनको अर्थ छैन : नेता सिटौला

दमक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजावादीको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।

आइतबार झापाको चन्द्रगढीमा नेपाल विद्यार्थी संघले शहीद सुरज विश्वास र राजन गिरीको स्मृतिमा आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले लाखौं जनताले एकैचोटी सडकमा आएर ल्याएको गणतन्त्रलाई केही अराजक भीडले हल्लाउन नसक्ने बताए ।

उनले त्यो बेला राजाले सही काम नगरेका कारण जनआन्दोलनबाट राजसंस्था फालिएको बताए । वर्तमान संविधानले राजालाई कुनै स्थान नदिएको सिटौलाले बताएका छन् ।

उनले आम जनमानसमा राजा फर्किन्छन् भन्ने कुराको भ्रम छरेर नागरिकमा अन्यौलता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता जनविरोधी अभियान असफल हुने बताए । राजा फर्किन्छन् भन्ने सोँच दिवा सपना मात्र भएको नेता सिटौलाले बताएका छन् ।

उनले नारायणहिटी राजदरबार सरकारको सम्पत्ति भैसकेकाले यसलाई सरकारले संग्रहालयको रुपमा परिणत गरिसकेको बताए । नेता सिटौलाले त्यत्रो शहीदहरूको बलिदानीबाट संस्थागत भइसकेको गणतन्त्रको विकल्प अन्य तन्त्र हुनै नसक्ने बताए ।

नेता सिटौलाले झापाली भूमिमा रगत बगाएका सुरज विश्वास र राजन गिरीको सपनाका रूपमा स्थापित गणतन्त्रको कहिल्यै अन्त्य नहुने पनि बताएका छन् ।

शहीद पिता केदारशम्शेर गिरी, माता मीनु विश्वास, जनआन्दोलनका घाइतेहरू गोविन्द कडरिया, गोपाल श्रेष्ठ, सिन्धु उप्रेती तथा २०६२/०६३ को जनआन्दोलनका विशिष्ट कमाण्डर सुधिरकुमार सिवाकोटीलाई कांग्रेस नेता सिटौलाले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

Published : Sunday, 2025 April 20, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया