राजाको शासन कस्तो क्रुर थियाे भन्ने कुराहरू मलाई याद छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले राजाको क्रुर शासन व्यवस्थालाई आफूले भोगेको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा नेपाली कांग्रेसकी नेतृ डा.महेश्वरी कुँवरको किताव ‘सात वटै प्रदेशको चित्र, एउटै क्यानभासभित्र’को विमोचन गर्दै डा.राणाले तत्कालीन समया राजाको क्रुर शासनलाई आफू र आफ्नो पुस्ताले व्यहोरेको बताइन् ।

उनले भनिन्, ‘राजाको यहाँ कस्तो शासन थियो, कस्तो क्रुर शासन थियो, ह्युमन राईटको अवस्था कस्तो थियो भन्ने कुराहरू मलाई याद छ ।’

‘अहिलेको जेनरेशनले त्यो सम्झिदै सम्झिदैन । हामीले सम्झाउँदै सम्झाएनौँ । यो हाम्रो गल्ती रहेछ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

‘पोल्टिकल प्रोसेस कसरी अगाडि बढ्यो, कत्रो ठूलो संघर्ष, कत्रो ठूलो लडाइँबाट हामी शान्ति प्रक्रियामा आयौँ, कसरी संविधान लेखियो, महिलाको अधिकार, मधेसीको अधिकार, जनजाति, आदिवासीको अधिकार सबै नेपालीको अधिकार कसरी प्राप्त गरेर, कसरी विकासको गति द्रुत भएर अगाडि बढेको छ, त्यो हामीले बिर्सीसकेका छौँ’, उनले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘एउटा भाष्य के निर्माण गरिदिएको छभने, यो केही पनि भएको छैन, यो खत्तम देश हो । अरुले भनको फेसबुकमा लेख्ने, नकारात्मक कुराहरू प्रचार गर्ने, त्यसकै आधारमा नेता बन्नेहरूको पछि नलाग्नुस् । आफ्नै स्वविवेकमा लाग्नुस् ।’

परराष्ट्रमन्त्री डा.राणाले नेपाल सानो मुलुक भए पनि विश्वमा शिर ठाडो बनाएर हिँडेको बताइन् । उनले आफू विदेश भ्रमणमा जाँदा नेपालको परराष्ट्रमन्त्रीको रुपमा स्वागत गरेको पाउँदा निकै गर्व लाग्ने गरेको बताइन् ।

उनले भनिन्, ‘हामी एउटा सानो देश, भूपरिवेष्ठित देश, हामीले हेल्थ, एजुकेशन, इन्फ्रस्टक्चर, मेनपावर, ह्युमनराइट्समा एचिभमेन्ट गरेका छौं । हाम्रो शिर जहाँ जाँदा पनि परराष्ट्रमन्त्री भनेपछि मलाई एकदम इज्जतका साथ ट्रिट गर्छन् । मैले नेपालको परराष्ट्रमन्त्रीको इज्जत पाएको छु । म आफूलाई भाग्यशाली मान्छु की यस्तो देशको परराष्ट्रमन्त्री हुन पाएँ ।’

उनले भनिन्, ‘देशभित्र देख्छ मलाई पनि डिप्रेशन हुन्छ । ढुङ्गा हानेको छ, गाली गरेको छ, उसले अर्कोलाई नराम्रो भनेको छ । यसले नेश्नल माहोल पनि बिग्रिएको छ । जहिले पनि नकारात्मक कुरा गरेको छ । मिडियाले नराम्रो कुरालाई हाइलाइट गरेर रिपोर्टिङ गरेको हुन्छ । राम्रो कुरालाई रिपोर्टिङ कम हुन्छ ।’

डा.राणाले भनिन्, ‘अस्ति पनि हजार जना जुलुस जम्मा भएको थिएन राजावादीको जुलुसमा कुनै कुनै देशको मिडियाले त यहाँको सत्ता नै पल्टिन लागिसक्यो जस्तो गरेर प्रचार ग¥यो, अर्को देशमा प्रचार ग¥यो ।’

‘मेरो साथीहरू टर्की जान लाग्नुभएको थियो । घुम्नलाई । टर्कीमा त एकदम सिभिल वार भएको जस्तो गरेर बीबीसीले देखाएको थियो । मेरै उमेरका साथीहरूलाई हातखुट्टा भाँचेका छन्, खत्तम हुन लागेको छ भनेको त आउँदा केही पनि छैन’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

उनले भनिन्, ‘पहिला मिडियाले ओपनियन बनाउँथ्यो । अहिले फेसबुकमा राख्छौँ । त्यसलाई ओपनियन बनाउँछौँ । त्यसले सम्पूर्ण समाजमा टक्सिन वातावरण बनाउँछ । नेपालमा मात्रै होइन, विदेशमा पनि हो । यसलाई हामीले कसरी म्यानेज गर्ने भन्ने कुरा नेपालमा मात्रै होइन, अरु देशको लागि पनि एउटा ठूलो च्यालेञ्ज रहेछ ।’

परराष्ट्रमन्त्री डा.राणाले सकारात्मक सोँचेले मात्रै मुलुकलाई विकास र उन्नतिमा लैजाने बताएकी छिन् ।

‘एकदम नेगेटिभ सोँच भएको समाजमा बस्ने की, आशावादी समाजमा हामीले बनाउने । यो अरुले गर्दैन, हामीले आफै गर्नुपर्छ । तपाई आफूले देखेको परिवर्तनको सम्वाहक आफै हुनुपर्छ । हामीले गर्ने कामले यो समाज परिवर्तनमा जाने हो’, उनले भनिन् ।

अहिलेको व्यवस्थाका कारण गाउँका जनताले छिटो निर्णय गरेर काम गर्ने अवस्थामा पुगेको बताइन् । परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘जनताले गाउँमै आफ्नो कामको निर्णय गर्ने यो सिस्टम के नराम्रो हो त ? गाउँपालिका, नगरपालिकाको जनप्रतिनिधिलाई तलब चाहिँदैन ? अवश्य पनि चाहिन्छ । यो त वेशिक कुरा हो ।’

Published : Thursday, 2025 April 17, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया