२५ करोड बरामद प्रकरणमा माओवादी नेतासहित २ जनाविरुद्ध अभियोग पत्र दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपियाँ प्रकरणमा अभियोग पत्र दायर गरेको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपियाँ बिगो दाबी गरिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

विभागले २५ करोड बराबरका विदेशी मुद्रा तस्करीमा दुई जनाविरुद्ध अभियोगपत्र दायर भएको जनाएको छ । ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका फुच्चे भनिने कुसाङ लामा र नेकपा (माओवादी केन्द्र)का नेता नारायण पौडेललाई मुख्य अभियुक्त बनाई अभियोगपत्र दायर गरेको विभागले जनाएको छ ।

युरो र डलर बरामद भएलगत्तै पौडेल भने सम्पर्कविहीन छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

ट्रकको फल्स बटममा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित चैत ४ मा कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

कुसाङ भरिया हुन् भने नारायण २५ करोडका मालिक हुन् । नारायण पक्राउ नपरेपछि विभागले मुद्दा दर्ता गरेको हो ।

कुसाङ यसअघि पनि सुन तस्करीमा पक्राउ परेको र पाँच वर्षभित्रै अर्को कसुर गरेको भन्दै थप सजायको माग गरेको विभागले जनाएको छ ।

घटनामा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर पनि जफत गर्न माग भएको छ ।

Published : Tuesday, 2025 April 15, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया