लाखौं रुपियाँ भ्रष्टाचारमा सफाइ पाएका सचिवविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । लुम्बिनी प्रदेशका तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी सचिव बैकुण्ठ अधिकारीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव अधिकारीले कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनको लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनीटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी सन्धिखर्क, अर्घाखाँचीलाई वितरण गरेको भन्दै विशेषमा आरोपपत्र दायर गरेको थियो ।

कृषि विकास कार्यक्रमतर्फ रोल्पा, प्यूठान, गुल्मी, पाल्पा लगायतका जिल्लाहरूमा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनको लागि सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन नगरी सम्झौता बमोजिम गुणस्तर र ब्राण्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्राण्डको मिनीटिलर बापत आपूर्तिकर्तालाई भुक्तानी गरेको भन्दै उनीविरुद्ध अख्तियारले दोस्रो आरोपपत्र पनि दायर गरेको थियो ।

पहिलो मुद्दामा ४३ लाख ३७ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप रहेकोमा विशेषले गत चैत १९ गते सफाइ दिएको थियो ।

दोस्रो मुद्दामा १ करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर भएकोमा विशेषले २०८० वैशाख ३१ गते आंशिक सफाइ दिएको थियो ।

विशेषका दुवै फैसला चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्दै आरोपपत्र दायर गरेको छ ।

Published : Tuesday, 2025 April 15, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया