दाङ कांग्रेसका पूर्व सभापतिको निधनमा देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीर्थराज ज्ञवाली ‘चैतु’को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मंगलबार शोक वक्तव्य जारी गरेर सभापति देउवाले भने, ‘नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति एवं जिल्ला विकास समिति दाङका पूर्व सभापति तीर्थराज ज्ञवाली ‘चैतु’को निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ ।’

‘स्वर्गीय तीर्थराज ज्ञवालीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ’, देउवाले भने ।

‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, सभापति देउवाले भने, ‘दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

ज्ञवाली नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्व सभापति हुन् । ज्ञवालीको वैशाख २ गते मंगलबार दाङको घोराहीमा निधन भएको छ ।

लामो समयसम्म नेपाली कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गरेका थिए ।

विक्रम संवत् २०२३ बाट राजनीतिमा प्रवेश गरेका ज्ञवालीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

ज्ञवालीको जन्म विक्रम संवत् २००८ साल जेठमा भएको थियो । ज्ञवालीले नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा करीब साढे चार वर्ष जेल जीवन बिताएका छन् ।

तत्कालीन पञ्चायती व्यवस्थाले ज्ञवालीको सम्पत्ति सर्वश्वहरण गर्नुका साथै आजीवन कारावासको सजाय समेत गरेको थियो ।

ज्ञवालीको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

Published : Tuesday, 2025 April 15, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया