नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरूलाई भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाको किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापा मगरसहित ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आइतबार आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गराएको हो । अनुसन्धानका क्रममा कामभन्दा बढी बिल बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानी पु¥याएको पाइएको आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापा मगर, खगेन्द्र साउँद, ईन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्रबहादुर बि.क., असिस्टेन्ट सव–ईन्जिनियर राजेन्द्रबहादुर साउद, उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा मगरसंग २ लाख ६ हजार ९३५ रुपियाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाय माग गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साउँदसंग २ लाख २४ हजार ५५० रुपियाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाग माग गरिएको छ ।

ईञ्जिनियर नवीन साउद र सव–ईञ्जिनियर राजेन्द्रबहादुर बि.क., असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउदसंग ४ लाख ३१ हजार ४८५ रुपियाँ बिगो असुल उपर, कैद र जरिवाना समेत सजाय माग गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढालाई ४ लाख ३१ हजार ४८५ रुपियाँ बिगो जफत र सजायको माग दाबी अख्तियारले गरेको छ ।

Published : Sunday, 2025 April 13, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया