सहकारी ठग, भगौडा र हरुवाहरूलाई तस्करका नाइके राजा चाहिएको छ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले चुनाव हारेका हरुवा, सहकारी ठग र मुलुक छाडेर भागेका भगौडाहरूलाई राजा चाहिएको भन्दै आक्रोश पोखेका छन् ।

शनिबार नेपालगञ्जमा नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले निर्वाचनमा पराजित, तत्कालीन समयमा मुलुकमा द्वन्द्व छ, बस्न सकिँदैन भनेर देश छाडेर भागेका भगौडाहरूलाई अहिले आएर राजा चाहिएको बताए । उनले सहकारी, बैंक ठगहरूलाई सबैभन्दा धेरै राजा चाहिएको बताए ।

उनले भने, ‘गएको निर्वाचनमा स्थानीय निकायमा होस्, प्रदेशको निर्वाचनमा होस्, संघको निर्वाचनमा होस् । विभिन्न पार्टीबाट हारेका उम्मेदवारहरू विभिन्न स्वतन्त्र पार्टीबाट लडेका हारेका उम्मेदवारहरूलाई आज राजा चाहिएको छ ।’

‘विभिन्न सहकारी ठगी गर्ने ठगहरूलाई आज राजा चाहिएको छ’, तरुण अध्यक्ष गुरुङले भनेका छन् ।

उनले भने, ‘जतिबेला यो देशमा राज्य पक्ष र माओवादी पक्षबीच जुन द्वन्द्व हुँदै गर्दा मुलुकमा द्वन्द्व हुँदै गर्दा यो देश बस्न लायकको छैन भनेर विभिन्न देशमा भागेकाहरू जब मुलुक शान्ति प्रक्रियामा आइसकेपछि नेपाललाई पनि ठगे, हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई ठग्नको निम्ति विभिन्न भ्रम सिर्जना गर्दै विभिन्न पार्टी र विचार सिर्जना गरेर फेरि पनि, हामीले गएको निर्वाचनमा भनेका थियौँ यी सबै नक्कली हुन् ।’

‘जसले हिजो पनि ठगेका थिए । विदेशमा पनि ठगे, आज ठगेको छ भन्दाभन्दै आज प्रमाणित भएका छन् । विभिन्न सहकारी ठग्नेहरू आज जेल गएका छन् । यिनले पनि भोलि रोज्ने राजा नै हो’, गुरुङले भने ।

‘राजा कताकता धर्मको नाममा यदि हिन्दु धर्म स्थापित भयो भने विष्णुको अवतार राजालाई मानिन्छ । जनु भ्रम सिर्जना गरिएको छ । हिजो यिनै पूर्वराजा हुन् जब पञ्चायतकालमा, पञ्चायतकालका प्रधानमन्त्रीहरूले भूमिगत गिरोह भनेर तिनी हाम्रा विष्णुका मूर्तिहरू विदेशमा बेच्ने गिरोह पनि यिनै पूर्वराजा हुन् । जसलाई भगवानको मूर्तिको रुप थाहा छैन त्यो कहाँबाट विष्णुको अवतार हुन्छ ? त्यो कालो ईतिहाँसतिर मुलुक फर्किन चान्न । त्यो कालो ईतिहाँस हामीले बिर्सिसकेका छौँ’, अध्यक्ष गुरुङले भने ।

तरुण अध्यक्ष गुरुङले चैत १५ गते तीनकुने क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहका मतियार र कथित राजावादीहरूबाट भएको हिंसात्मक घटनाका दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले आगामी दिनमा हिंसा गर्ने आँट कसैलाई नआउने गरि कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘तीनकुने घटनामा विभिन्न घरहरू तोडफोड भयो । हत्या भएको छ । लुटपाट भएको छ । यो घटनामा दोषीलाई फौजदारी मुद्दा, ज्यान मुद्दा, देशद्रोही मुद्दा चलाउनुपर्छ । कानूनअनुसार सख्त कारबाही गर्नुपर्छ ।’

Published : Saturday, 2025 April 12, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया