यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको बताएका छन् ।

शुक्रबार बुटवलमा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहृले एमालेलाई विभाजनको कोशिश गर्नेहरू असफल भएको बताए ।

उनले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन् ।’

‘देशको विकासको भाग्यरेखा हामी आफै कोर्छाैँ । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्’, ओलीले भने ।

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए ।

उनले विगतमा आफ्ना कुशासन र निरंकुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे ।

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको बताएका छन् ।

देशका ठूला दलहरू नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने बताए । उनले भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

Published : Friday, 2025 April 11, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया