धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउँछ : उपाध्यक्ष डा.लामा

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ)ले धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा धौलागिरी एडभेन्चर ट्रेकिङ प्रा.लि.को आयोजना तथा मौलिका फिल्म्सको सह–आयोजनामा आयोजित संस्कृति आदानप्रदान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै डा.लामाले संसारभरिका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरेका छन् ।

उपाध्यक्ष डा.लामाले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अस्ट्रेलियाको समुदायले सहकार्य तथा हातेमालो गर्न इच्छा र आवश्यकता महसुस गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रदान गरेका छन् ।

उपाध्यक्ष डा.लामाले बुद्धस्थलहरू कपिलवस्तुको तिलौराकोट, रामग्राम समेतलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै लैजाने प्रतिवद्धता समेत जनाएका छन् ।

विश्वमा अहिंसा र द्वन्द्व बढ्दै गएको बेला शान्तिको लागि विश्व समुदायमा संस्कृतिको आदानप्रदानले मानव समाजको विकासलाई झनै मैत्रीपूर्ण बनाएको बताएका छन् ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय मठ र मन्दिरहरू विश्व संस्कृतिको रुपमा विकास भैरहेको कुरा बताउँदै उपाध्यक्ष डा.लामाले विभिन्न देशहरूले आफ्नो देशको वास्तुकला र धार्मिक शैलीलाई लुम्बिनीका मठ र गुम्बारहरूले प्रतिनिधित्व गरेको बताएका छन् ।

अष्ट्रेलियामा ग्रेट स्तुपमार्फत इयान ग्रीनले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन योगदानलाई कदर गर्दै कार्यक्रमका अवसरमा इयान ग्रीनलाई उपाध्यक्ष डा.लामाद्वारा विशेष सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रूपा बि.क., अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत कैलाशराज पोखरेल, बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ, आयोजक संस्था धौलागिरी एडभेन्चर प्रालिका अध्यक्ष आंगकामी शेर्पाले आफ्नो धारणाहरू व्यक्त गरेका छन् ।

Published : Thursday, 2025 April 10, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया