प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले भेट गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग मन्त्री चौहानले भेटवार्ता गरेका हुन् । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति रहेको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरूको बैठकका लागि नेपालमा आएका मन्त्री चौहानले प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्ने बताएका छन् ।

भारतीय मन्त्री चौहानले दुुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरूलाई गतिका साथ अगाडि बढाउनुुपर्ने र सानातिना अल्झनका मुद्धा छाडेर थाँती रहेका महत्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरुपमा काम गर्न आफू तयार रहेको बताएका छन् ।

चौहानले हालै थाइल्याण्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुुनिकीकरणसहित आर्थिक विकासका लागि दुुई छिमेकी मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने कुरा भएको स्मरण गरेका छन् ।

ओलीले बदलिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुुट हुनुुपर्ने बताए ।

Published : Wednesday, 2025 April 9, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया