गुट-उपगुटले कांग्रेसलाई कमजोर बनाउँछ, अन्तरद्वन्द्व अन्त्य गर्नुपर्छ : सभापति बानियाँ

भीमफेदी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले गुट र उपगुटका कारण पार्टी कमजोर हुने बताएका छन् ।

बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ धोर्सिङमा नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले गुट र उपगुटलाई अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘आन्तरिक गुट–उपगुटले पार्टी कमजोर हुन्छ । को व्यक्ति को तर्फ नजिक भन्ने विषय मात्रै हो गुट–उपगुट भनेको । यसले पार्टीलाई कमजोर बनाउछ ।’

सभापति बानियाँले पार्टीको आन्तरिक निर्वाचनलाई आत्मसात गरेर अस्तित्व स्वीकार गर्नुपर्ने बताएका छन् । उनले अन्तरद्वन्द्वलाई अन्त्य गरिनुपर्ने पनि बताए ।

आन्तरिक चुनावले पार्टीभित्र ठूलो रोगको रुपमा अन्तरद्वन्द्व रहेको भन्दै यसको अन्त्य गर्न वडादेखि नै लाग्नुपर्ने सभापति बानियाँले बताएका छन् ।

उनले भने, ‘सामाजिक सञ्जाललाई सदुपयोग गरौं । कांग्रेस नेतृत्वले गरेको कामलाई प्रचार–प्रसार गरि जनतासामु लैजान वडातहका नेतृत्वले ध्यान दिनु जरुरी छ ।’

‘टिकट लिनका लागि सबैले पहल गर्नुपर्छ । टिकट पाउने जो कोही उम्मेदवार बन्छ । उसलाई जिताउनेतर्फ लाग्नुपर्छ’, बानियाँले भने, ‘टिकट पाइसकेपछि त्यो उम्मेदवारलाई जिताउने जिम्मा हामी सबैको हो ।’

सभापति बानियाँले संघीयताले विकासको लहर लागेको बताएका छन् । ‘धेरै सडक सञ्जाल निर्माण हुनुका साथै शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी लगायत अन्य क्षेत्रमा विकास तीव्र रुपमा भइरहेको छ’, सभापति बानियाँले भने ।

त्यसैगरी, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्वको अन्त्य गर्न सक्ने हो भने कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । महर्जनले कांग्रेसमा समस्याको रुपमा अन्तरघात र अन्तरद्वन्द्व रहेको बताए ।

कांग्रेसका नेता समेत रहेका मन्त्री महर्जनले भने, ‘नेपाली कांग्रेसभित्र रहेको वडा तहदेखि पालिका, क्षेत्र र जिल्लासम्म रहेको अन्तरद्वन्द्वलाई समाधान गरिनुपर्नेछ । अन्तरद्वन्द्व अन्त्य भयो भने कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

‘एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने कार्यलाई अन्त्य गरिनुपर्छ’, खेलकुदमन्त्री महर्जनले भने, ‘म मन्त्री बनेर आएपछि युवा तथा खेलकुद मन्त्रालयलाई काम गर्ने वातावरणमा लगेको छु । खेलकुद सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गरिएको छु । अघिल्ला मन्त्रीहरूले गर्न नसकेको काम गरेका छौँ ।’

खेलकुदमन्त्री महर्जनले नेपाली बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको निकै प्रसंशा गरेका छन् । महर्जनले भने, ‘आदरणीय नेता ईन्द्रबहादुर बानियाँ जस्तो नेता पाउनु मकवानपुर जिल्लाका जनताले गौरब मान्नु पर्छ ।’ सभापति बानियाँको पहलमा मकवानपुर जिल्लामा विकास निर्माणमा काँचुली फेरेको उनले बताए ।

नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. २ का संघीय सभापति लोकबहादुर मुक्तान, मकवानपुर कांग्रेसका पूर्वसभापति रघुरमण न्यौपाने, सह–सचिव ईन्दिरा न्यौपाने, महासमिति सदस्य शान्ता बि.क., कांग्रेसका जिल्ला सदस्यहरू राजु खतिवडा, धिरेन लामा, भरत लामा, मोमलाल दोङ्ग, तारा कार्की, बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, चम्फुरत्न लामा, नेपाली कांग्रेस काठमाडौं–मकवानपुर सम्पर्क समितिका सभापति तेजप्रसाद घिमिरे, क्षेत्र नं. १ का संघीय सह–सचिव मुनाकुमारी पाठक, महाधिवेशन प्रतिनिधि गोरीमाया लामा लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 March 12, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया