विदेशबाट भागेका रवि-रविन्द्रहरूका कर्तुत् बाहिर आउन थाल्यो : तरुण अध्यक्ष गुरुङ

कावासोती । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई संकटबाट निकास दिन नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेर सरकार गठन भएको बताएका छन् ।

बुधबार नेपाल तरुण दल नवलपुरले कावासोतीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले जनताको निराशालाई कांग्रेस–एमालेले आशामा परिणत गर्ने दिशामा गएको बताए । उनले मुलुकलाई निकास दिने भनेका कांग्रेस र एमाले मात्रै भएको बताए ।

उनले भने, ‘यो मुलुकको संकटलाई अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन भएको थियो । जनताको निराशालाई यो गठबन्धनले आशामा परिणत गरेको छ ।’

तरुण अध्यक्ष गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्रहरूको निकै कठोर रुपमा आलोचना गरेका छन् । उनले भने, ‘विदेशबाट भागेका रवि लामिछाने र रविन्द्र मिश्रहरू हिजो उदाउँदै गर्दा मैले यिनीहरूको केहीन केही कर्तुत् भएकाले भोलिको दिन बाहिर अवस्य आउनेछ भनेको थिएँ । आज ती कुराहरू विभिन्न रुपमा बाहिर छरपष्ट भएका छन् ।’

अध्यक्ष गुरुङले जनता के कति कारणले रिसाएका छन् ? जनताको उत्थानको लागि हामीले के गर्न सकिन्छ ? भनेर तरुणहरूले विशेष ध्यान दिनुपर्ने बताए । उनले अनुशासनको पर्याय तरुणहरू नै रहेको भन्दै तरुणहरूको जिम्मेवारी झन् बढेर गएको बताए ।

कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य सरिन घिमिरे, आर.सी. भट्टराई, नेपाल तरुण दल नवलपुरका अध्यक्ष मीन घले, जगदीश खाण, गोविन्द क्षेत्री, मोतीराम चालिसे, राजु पौडेल, नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ का सभापति अमृत भट्टचन लगायतको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2025 March 12, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया