मनहरीमा ठूलो परिमाणको अफिमसहित मानिस पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ किलो ५३० ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित १ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

फागुनको २४ गते राति ८ बजेर २० मिनटको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले अफिम बरामद गरेको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

मनहरी गाउँपालिकाको वडा नं. ८ स्थित भित्री सडकखण्डमा देवकोटबाट मेनरोडतर्फ आउँदै गरेको ग ६ प ४५८४ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा वर्ष ३२ को राजकुमार तामाङलाई अफिमसहित नियन्त्रणमा लिइएको एसपी खड्काले बताए । पक्राउ परेका तामाङको शरीर र मोटरसाइकलमा खानतलासी गर्ने क्रममा मोटरसाईकलको लेगाडमा प्लास्टिकभित्र लुकाई छिपाई ल्याइएको अवस्थामा २ किलो ५३० ग्राम अफिम फेला परेको थियो ।

अफिम र मोटरसाइकल समेत राजकुमार तामाङलाई मकवानपुर जिल्ला अदालतमा पेश गरिएको छ । तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ८ दिनको म्याद अनुमति दिएको छ ।

फागुन २४ गते बिहान २ बजेर ३५ मिटनको समयमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १० भिष्ममार्गस्थित सडकमा बा.प्र. ३–०२–०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने हेटौँडा– १४ बस्ने वर्ष १९ को रोजल ढुङ्गानालाई लागुऔषधसहित पक्राउ गरिएको एसपी खड्काले बताए । ढुङ्गानाको साथबाट २ वटा पुरिया बनाई लुकाई छिपाई गरी ल्याइएको अवस्थामा २७० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद भएको छ । ढुङ्गानालाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उता, लागुऔषध खैरो हेरोईन जस्तो देखिने खैरो पदार्थसहित ३ जना पक्राउ परेका छन् । फागुन २४ गते बिहान २ बजेर २५ मिनटको समयमा लागुऔषध कारोवर गरीरहेका छन् भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १० स्थित आनन्द टोलमा कोठाभाडामा लिई बस्ने वर्ष २२ की विविका लामा, वर्ष १७ को नाबालक र वर्ष १५ नाबालिकालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरू शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा कोठाभित्र लुकाई छिपाई राखिएको अवस्थामा २ ग्राम ६४० मिलिग्राम लागुऔषध खैरो हेरोईन फेला परेको छ । उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले लागुऔषध ट्रामाडोलसहित ३ जना मानिसहरूलाई पनि पक्राउ गरेको छ । फागुन २६ गते अपरान्ह ४ बजेको हेटौँडा– १४ मयुरधाप चोक नजिकै भित्री सडकखण्डमा हेटौँडा– १४ मयुरधाप बस्ने वर्ष २२ को विकाश तिमल्सिना, वर्ष २६ को कैलाश लामा र वर्ष ३३ को प्रकाश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू बसीरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध ट्रामाडोल १२० पिस फेला परेको एसपी खड्काले बताए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Published : Tuesday, 2025 March 11, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया